चितवन, २० चैत ।
भरतपुरको चितवन एक्स्पो सेन्टरमा चैत्र १४ गतेदेखि सुरु भएको चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवद्र्नन तथा व्यापार मेला मा अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थिति भैरहेको छ ।
मौसम परिवर्तनसँग आवश्यक पर्ने बिभिन्न किसीमका जुत्ता र चप्पल किन्नका लागि र मेलाको अवलोकन गर्नका लागि मेलामा आउनेहरुको संख्या वढ्दो छ ।
चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवद्र्नन तथा व्यापार मेलामा बिभिन्न ६ वटा कम्पनीको स्वदेशी उद्योगबाट उत्पादित जुत्ता तथा चप्पलहरु किन्न पाईने छ ।
मेलामा एक हजारभन्दा बढी प्रकारका जुत्ता चप्पलहरु एकै ठाँउमा प्राप्त गर्न सकिने र सुलभ मुल्यका कारण पनि अवलोकन तथा खरिदकर्ताहरुको आकर्षण बढेको आयोजकले जानकारी दिएका छन् । चैत्र १४ गतेदेखि सुरु भएको मेलाको ३० हजार भन्दा बढिले अवलोकन गरेको आयोजकले जानकारी दिएका छन् । जुत्ता चप्पल मेलामा ६ वटा स्वदेशी उद्योगबाट उत्पादित ३० भन्दा बढी स्टल राखिएको मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिनुभयो ।
स्वदेशी उत्पादनका बारेमा आमउपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी गराउने उद्देश्यले चौंथो पटक मेला आयोजना गरिएको हो । करिब एक महिनासम्म सन्चालन हुने मेलामा १ करोड ५० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ ।
मेलामा प्रत्येक जुत्ता चप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत रहेको छ । मेलामा बिएफ डियरहिल सुज, फस्र्ट वाक सुज, शिखर सुज, रन सुज, स्मार्ट सुज, सु ल्याण्ड सुज, हाईलाइफ ब्राण्डका जुत्ता, चप्पल तथा छालाबाट उत्पादित सामग्री उपलब्ध रहेका छन् । जुता चप्पल मेला २०८२ बैशाख १० गते सम्म सन्चालन हुने छ ।

प्रतिकृया दिनुहोस्