चितवन- चितवनमा बालबालिका केन्द्रित ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमको नाममा आर्थिक अनियमितता, ठगी र बालमनोविज्ञानमा नकारात्मक असर पुर्याएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी परेको छ।
एस एण्ड बि क्रियसनद्वारा आयोजित तथा मिना झा इभेन्ट प्लानर रहेको “मिस स्नो ह्वाइट २०२६ सिजन -६” नामक प्रतियोगितामा सहभागी एक बालिकाका अभिभावकले सो संस्था र आयोजकविरुद्ध प्रमुख जिल्ला अधिकारी समक्ष कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन्।
के हो घटना ?
उजुरीका अनुसार, आयोजकले सुरुमा ४ देखि ८ वर्ष र ८ देखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिँदै प्रवेश शुल्कबापत प्रतिव्यक्ति पन्ध्र हजार रुपैयाँ लिएका थिए । सुरुमा “यसबाहेक कुनै पनि शुल्क हुने छैन” भनेकाे भएता पनि कार्यक्रम सञ्चालनका क्रममा विभिन्न अनियमितता र आर्थिक दबाब सिर्जना गरिएको उजुरीमा उल्लेख छ।
सुरुमा ३० दिनको तालिम हुने भनिए पनि करीब ३ हप्ता मात्र प्रशिक्षण दिइएको र त्यसपछि अचानक प्रत्येक अभिभावकलाई प्रतिटिकट एक हजार रुपैयाँ दरका २० वटा टिकट अनिवार्य रूपमा बेच्न निर्देशन दिइएको पीडित अभिभावकको आरोप छ। यसरी प्रत्येक अभिभावकबाट प्रत्यक्ष रूपमा थप बीस हजार रुपैयाँ उठाउने उद्देश्य आयोजकले राखेको देखिएको छ।
अझ गम्भीर कुरा त, आयोजक पक्षले उक्त टिकट बिक्रीलाई नै “मार्किङ” (अङ्क जोडिने) को मुख्य आधार बनाइने बताएको अभिभावकले बताएका छन् । बालबालिकाको प्रतिभा मूल्याङ्कन गर्नुको साटो टिकट बिक्रीको आधारमा निर्णय गर्ने आयोजकको कदमप्रति अभिभावकले तीव्र आपत्ति जनाएका छन्। टिकटमा समेत आफ्नै बच्चाको फोटो राखेर अभिभावकलाई बिक्री गर्न दबाब दिनु अनुचित भएको उजुरीमा उल्लेख छ।
बालमनोविज्ञानमा नकारात्मक असर
यस प्रकारको गतिविधिले आर्थिक रूपमा कमजोर रहेका अभिभावकमाथि अन्याय हुनुका साथै टिकट बेच्न नसक्ने अभिभावका प्रतिभाशाली बालबालिकाहरू “छनोट नहुने डर” ले ग्रसित भएका छन्। यसले बालबालिकाको आत्मविश्वास, मानसिक अवस्था तथा उनीहरूको मनोविज्ञानमा गम्भीर नकारात्मक असर पारेको निवेदनमा भनिएको छ।
पीडित अभिभावकले यस विषयमा तत्काल सत्यतथ्य छानबिन गरी ठगी, आर्थिक शोषण वा बालअधिकार विपरीत कार्य गरेको पाइएमा सम्बन्धित आयोजक तथा संस्थामाथि आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन्। साथै, भविष्यमा यस्ता कार्यक्रमहरू पारदर्शी र नियमसंगत रूपमा सञ्चालन हुने वातावरण मिलाइदिन समेत प्रशासनसँग अनुरोध गरिएको छ।
यस विषयमा सत्यतथ्य बुझ्नका लागि भरोसा खबरले कार्यक्रम आयोजक एवं इभेन्ट प्लानर मिना झालाई सम्पर्क गर्दा आयोजकले अभिभावकलाई टिकट बेच्नका लागि बाध्यकारी नबनाएको बताउनु भयो । आयोजकले लागत व्यवस्थापनका लागि केही टिकट बिक्री गर्न अभिभावकलाई आग्रह गरेको उहाँको भनाइ छ ।



प्रतिकृया दिनुहोस्