चितवन- एउटा निर्वाचनमा पराजय भयो भन्दैमा राजनीतिक यात्रा सकिँदैन । चितवनकी कांग्रेस नेतृ मिना खरेलको पछिल्लो राजनीतिक यात्राले पनि यही देखाएको छ ।
चितवन–२ बाट प्रतिनिधिसभा निर्वाचनमा रवि लामिछानेसँग प्रतिस्पर्धा गरेकी खरेल उक्त निर्वाचनमा पराजित भइन् । तर, त्यसपछि पनि उनी राजनीतिक तथा सामाजिक भूमिकाबाट पछाडि हटिनन् ।
कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि चितवन–२ मा भएको निर्वाचनमा मिना खरेलले सर्वाधिक मत प्राप्त गरेकी छन् । कुल ९९१ मत खसेको निर्वाचनमा खरेलले ७४८ मत प्राप्त गर्दै सबैभन्दा बढी मत पाउने उम्मेदवार बनेकी हुन् ।
महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा लामो समयदेखि सक्रिय खरेल नेपाली कांग्रेसभित्र सामाजिक तथा राजनीतिक भूमिकाका कारण परिचित नाम हुन् । उनी हाल नेपाल महिला संघकी केन्द्रीय अध्यक्षसमेत हुन् ।
यसअघि प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट रवि लामिछानेसँग प्रतिस्पर्धा गरेकी खरेल पराजित भएकी थिइन् । निर्वाचनमा पराजयपछि पनि उनले आफ्नो राजनीतिक तथा सामाजिक सक्रियतालाई निरन्तरता दिइन् । त्यसपछि महिला तथा बालबालिकाका सवालमा आफ्नो लामो सामाजिक सक्रियतालाई राजनीतिक भूमिकासँग जोड्दै उनी नेपाल महिला संघको केन्द्रीय नेतृत्वमा पुगिन् ।
विशेषगरी हिंसापीडित महिला तथा बालबालिकाको संरक्षण, न्याय र सहयोगका क्षेत्रमा खरेलले लामो समयदेखि काम गर्दै आएकी छन् । सामाजिक क्षेत्रमा गरेको निरन्तर सक्रियता, सादगीपूर्ण जीवनशैली र महिला अधिकारका मुद्दामा निरन्तर आवाज उठाउँदै आएकी नेतृका रूपमा उनको परिचय बनेको छ ।
पार्टीभित्र पनि सरल व्यवहार र कार्यकर्तासँगको सहज सम्बन्धका कारण उनको स्वीकार्यता रहेको कांग्रेसका स्थानीय कार्यकर्ताहरू बताउँछन् । पछिल्लो महाधिवेशन प्रतिनिधि निर्वाचनमा चितवन–२ बाट सर्वाधिक मत प्राप्त गर्नुले पार्टी संगठनभित्र उनको प्रभाव र कार्यकर्तामाझ रहेको समर्थनलाई पनि देखाएको कांग्रेसका स्थानीय नेताहरूको बुझाइ छ ।
राष्ट्रिय राजनीतिमा निर्वाचन परिणामले एउटा अध्याय टुंग्याए पनि त्यसपछि महिला संघको नेतृत्व हुँदै पार्टी संगठनमा सक्रिय रहेकी खरेलका लागि चितवन–२ को पछिल्लो परिणाम राजनीतिक यात्राको अर्को महत्वपूर्ण अध्याय बनेको छ ।

प्रतिकृया दिनुहोस्