सिन्धु ढकाल
चितवन
चितवन जिल्लाको २ बटा पालिका हरु भरतपुर महानगरपालिका र माडी नगरपालिका महिलाहरुले हाँकिरहेका छन् । त्यसैले पनि यी दुबै पालिकामा महिला लक्षित कार्यक्रमहरु तुलनात्मक रुपमा बढि देखिन्छ ।
बिशेष गरि माडी नगरपालिका दलित, विपन्न र सिमान्तकृत महिलाहरुको बसोबास भएको क्षेत्रमा भुमि पुत्र मानिने आदिवासी थारु समुदायकी महिलाले नगरपालिकाको नेतृत्व सम्हाली रहेकी छन् । पुर्ण रुपमा मध्यवर्ती क्षेत्रले घेरिएको र बिशेष भौगोलिक परिस्थिति रहेको माडी नगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाली रहँदा ताराकाजी महत्तो स्थानिय महिलाहरुको आवश्यकता बारे अनभिज्ञ छैनन् । माडी नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रममा समेत दलित, विपन्न र महिलालाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।
पालिकाले मागमा आधारित कार्यक्रमलाई प्राथमिकतामा राखेर योजना तय गर्ने गरेको छ । तरपनि महिला लक्षित गरि स्थानिय तहले संचालन गर्ने सीपमुलक तालिम, वास्तविक आवश्यकता र बजार मागबीच तालमेल नमिलेको देखिन्छ ।
सिमान्तकृत महिलाहरुले संगठित रुपमा आफ्नो आवश्यकताको गहिराई बुझाउन र तालिमको माग गर्ने अवसर नपाउँदा प्रत्येक बर्ष नगरपालिकाको बजेटमा परम्परागत तालिमले ठाँउ पाउने गरेको छ । नगरपालिकाले महिला लक्षित अधिकाशं कार्यक्रममा सिलाई कटाई, व्युटिसियन, डल कुसन बनाउने तालिम साथै बाजा बजाउने तालिम जस्ता तालिम संचालन गर्दै आएको छ । केहि स्थानमा भैसी वितरण, बाख्रा बितरण लगायतको कार्यक्रम समेत गरेको नगरप्रमुख ताराकाजी महत्तोले बताईन् । माग बमोजिम नै सबै वडाहरुमा बाजा तालिम, सिलाई बुनाई र व्युटिसियन तालिम संचालन गरेको महत्तोको भनाई छ । भुगोल, जनसंख्या र आवश्यकताको आधारमा बिभिन्न समिति मार्फत माग संवोधन हुने गरि बजेट बिनियोजन गर्ने गरेको साथै वडाले पनि जनजाति महिला अपांगता भएका व्यक्ति केन्द्रित बजेट बिनियोजन गरेको महत्तोको दावी छ ।
तालिमबाट लाभान्वित महिलासँगको कुराकानीलाई आधार मान्दा तालिमको प्रभाव र नगर प्रमुखको दाबी मेल खाँदैन । नगरपालिका र वडा कार्यालयबाट बर्षेनी संचालन हुने तालिमबाट स्वरोजगार बन्न तथा अपेक्षित आयआर्जन गर्न नसकेको गुनासो जलवायु परिवर्तन र वन्यजन्तुको उच्च जोखिममा रहेका सिमान्तकृत महिलाहरुले गरेका छन् ।
आवश्यकता एकातिर तालिम अर्कोतिर
माडीका नदी किनार र जंगल छेउको वस्तीमा बसोबास गर्ने महिलाहरुको मुख्य समस्या बाढीले खेतीपाती नष्ट गर्नु र वन्यजन्तुको आक्रमणले पशु धनमा क्षति हुनु हो । उनीहरुले अहिले पनि परम्परागत प्रबिधि, सिचाई र मल बिउबाट खेतीपाती गर्दै आएका छन् । यस्तो अवस्थामा उनीहरुलाई आयआर्जनका लागि सम्बन्धित सिप विकास गर्नु आवश्यक देखिन्छ । उनीहरुको प्रमुख आवश्यकता बन्यजन्तु प्रतिरोधी तरकारी खेती, सहुलियतमा उन्नत बाख्रा पालन, सुधारिएको खोर निर्माणमा सहयोग तथा प्राबिधिक तालिम, होमस्टे संचालन व्यवस्थापन र आफुले उब्जाउ गरेका बस्तुको बजारीकरणको सीप बिकास गर्नु हो । यद्यपी माडी नगरपालिकाका र सम्बन्धित वडाका महिला लक्षित कार्यक्रमहरु स्थानिय आवश्यकतासँग मेल नखाएको देखिन्छ ।
माडी नगरपालिका ३ गुल्मेली टोलकी ५० वर्षीय बेलमति वि क घरमा हाँस कुखुरा र भैँसी पालेर गुजारा चलाउँछिन् । उनी भन्छिन् “मलाई चाहिएको हाँस कुखुरा वा भैसी पालनको तालिम हो, मैले अहिलेसम्म त्यस्तो तालिम पाएको छैन ।” उनले वडाबाट बाजा बजाउने ५ दिने तालिम लिएको भएपनि त्यसबाट आयआर्जन गर्न नसकेको बताईन् । तरकारी खेती, च्याउ खेती, पशुपालन जस्ता आयआर्जनसँग प्रत्यक्ष जोडिएको तालिमबाट बेलमति जस्तै स्थानिय रेश्मा हरिजन पनि वञ्चित छन् । उनका श्रीमान सवारी चालक हुन् । २ सन्तान हुर्काउँदै गरेकी हरिजन घरमै बसेर गर्न सकिने कामको खोजीमा छन् । खेती गरेको भए पनि सिँचाईको अभाव, जंगली जनावरको आक्रमणले बर्षेनी घाटा हुने गरेको भन्दै रेश्मा ले घरमै बसेर गर्ने कामहरु साबुन बनाउने, चर्खा बनाउने जस्ता तालिम पाए केहि आम्दानी गर्न सकिन्छ कि भन्ने आशा लिएकी छन् । तर उनले पनि वडा कार्यालयले संचालन गरेको बाजा बजाउने तालिमको अवसर मात्र प्राप्त गरेकी छन् । घरको काम र बालबालिकालाई रेखदेख गरी अतिरिक्त आय आर्जन गर्न चाहने महिलाहरुको आवश्यकता अनुरुपको सीपहरूलाई नगरपालिका र वडाले प्राथमिकता नदिएको उनले गुनासो गरिन् ।
माडीको मुटु मानिने वडा नं ३ कै सुनिता सुनारको अवस्था पनि उस्तै छ । उनले पनि वडा कार्यालयले उपलब्ध गराएको डल कुसन बनाउने र बाजा बजाउने दुबै तालिम लिइन् । तर दुबै तालिमबाट उनले नियमित आम्दानी गर्न सकेकी छैनन् । सुनार भन्छिन् “म कृषि काम गर्छु, भैसी पाल्छु, डल कुसन बनाएर बेच्नका लागि न त बजार छ, न त पुरा सीप नै छ ।” उनले कृषिमा जनावरको आक्रमणले हुने गरेको समस्या समाधान र कृषिको बीउबिजन तथा प्राबिधिक सहयोग नपाएको समेत गुनासो गरिन् ।
महिलाहरुको आवश्यकता र उनीहरुले प्राप्त गरेको सीपको अवस्थाले माडी नगरपालिकाको सीप विकास तालिमहरु अप्रासङ्गिक भएको पुष्टि गर्दछ । जीविकोपार्जनको संभावना बोकेको क्षेत्रलाई बेवास्ता गर्दै कम बजार माग भएका तालिमहरूमा नगरपालिकाले लगानी केन्द्रित गर्दा महिलाहरुको आर्थिक उत्थानमा योगदान हुन सकेको छैन ।
माडी नगरपालिका वडा नं ३ का अध्यक्ष पुरन महत्तो स्थानिय आवश्यकतालाई पहिचान गरेको भएता पनि बजेट अभावका कारण सबैलाई पुर्ण हुने गरि कार्यक्रम संचालन गर्न नसकिएको स्विकार गर्छन् ।
उपलब्ध स्रोतलाई उच्चतम सदुपयोग गर्दै सिमान्तकृत महिलाहरुको आवश्यकतालाई प्राथमिकता दिने कार्यक्रम संचालन गर्नुपर्नेमा नगरपालिकाले तालिम र योजना तयार गर्दा जलवायु परिवर्तनले पारेको असर विश्लेषण, स्थानीय बजारको माग सर्वेक्षण तथा वन्यजन्तुको आक्रमणबाट बच्न अपनाउनु पर्ने प्राबिधिक उपायहरुको बिषयलाई प्राथमिकतामा नराखेको देखिन्छ । जोखिम क्षेत्रका महिलाहरुको जोखिम संवेदनशीलताको मुल्यांकन गरि योजना तय गर्न नगरपालिका चुकेको देखिन्छ । विकासको गतिमा लम्किरहेको माडी नगरपालिकाका सिमान्तकृत समुदायका महिलाहरुको सीप विकासलाई प्रभावकारी बनाउनका लागि नगरपालिका र वडा कार्यालयले “सिकेको सीपबाट आम्दानी पनि हुनुपर्छ” भन्ने सिद्धान्तलाई आत्मसात् नगर्ने हो भने सीप विकासको नाममा खर्चिएको रकम बालुवामा पानी हाले झै खेर जानेछ ।

प्रतिकृया दिनुहोस्