सिन्धु ढकाल,चितवन।
चितवनको भरतपुर महानगरपालिका १० र आसपासका क्षेत्रमा संचालनमा रहेका मसाज सेन्टरहरुमा प्रहरीले गरेको छड्के अनुगमनका क्रममा ८ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले गरेको अनुगमनका क्रममा १ जना महिला सहित ८ जनालाई नियन्त्रणमा लिएको हो । दर्ता नगरि संचालनमा रहेका मसाज सेन्टरका संचालक तथा अवैध गतिबिधिमा संलग्न रहेका कर्मचारी र ग्राहकहरु गरी ८ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी रबिन्द्र खनालले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक जहरलाल स्यांतानको नेतृत्वमा गएको टोलीले नमस्ते किङ, गुड हेल्थ, ह्याप्पी हेल्थ, कान्तिपुर र मुन स्टार नामक स्पामा आकस्मिक अनुगमन गरेको हो । चितवनका मसाज सेन्टर तथा स्पाहरुमा अबैधानिक गतिबिधि हुने गरेको र बिना दर्ता संचालनमा रहेको भन्ने गोप्य सुचनाका आधारमा प्रहरीले आकस्मिक अनुगमन गरेको सुचना अधिकारी खनालले जानकारी दिनुभयो ।
यसअघि पनि मसाज सेन्टरले अबैध गतिबिधि गर्ने गरेको भन्ने गुनासो सरोकारवाला निकायहरुबाट आए पछि जिल्ला प्रहरीले पटक पटक संचालकहरुलाई बिधि पुर्याएर संचालन गर्न र अबैधानीक गतिबिधि नगर्न चेतावनी दिदै आएको थियो । प्रहरीले मसाज सेन्टरमा अबैधानीक गतिबिधि गरेमा हुन सक्ने कारवाहीका बिषयमा समेत संचालकहरुलाई सचेत गराउदै आएको थियो । चितवन जिल्लामा रहेका सामाजिक संघ संस्थाहरुले समेत मसाज सेन्टर तथा स्पाहरुलाई मर्यादित बनाउनका लागि कामदार तथा संचालकहरुलाई पटक पटक सचेतना कार्यक्रम गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्