भरतपुर, असार २५ – भरतपुर महानगरपालिका वडा नम्बर ७ ले वडाभित्रका अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जन तथा दैनिक जीवन सहज बनाउने उद्देश्यले बाख्रा तथा पानी तताउने इलेक्ट्रिक जग वितरण गरेको छ।
वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा अपाङ्गता भएका ५ जनालाई आयआर्जनमा सहयोग पुग्ने गरी बाख्रा वितरण गरिएको थियो भने ४२ जनालाई पानी तताउने इलेक्ट्रिक जग प्रदान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्य अमृता गौतम र रिता दर्जीको उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक रिता दर्जी रहनुभएको थियो भने अपाङ्ग अधिकार संरक्षण केन्द्र, भरतपुरका अध्यक्ष यमलाल सुवेदीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार, आत्मनिर्भरता अभिवृद्धि तथा सामाजिक समावेशीकरणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए। उनीहरूले स्थानीय तहले अपाङ्गता भएका नागरिकहरूको आवश्यकता पहिचान गरी लक्षित कार्यक्रम सञ्चालन गर्दै जानुपर्नेमा जोड दिएका थिए।
अपाङ्ग अधिकार संरक्षण केन्द्रको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा वितरण गरिएका सामग्रीले लाभग्राहीहरूको दैनिक जीवनलाई सहज बनाउन तथा आर्थिक गतिविधिमा संलग्न हुन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्