सिन्धु ढकाल । चितवन, ५ मंसिर
बिद्यालय गएका ३ जना बच्चा साँझ घर आई नपुग्दा सम्म रेखा सुनारको मन बेचैन भइरहन्छ । हिउँद लागेसँगै खहरे खोलाहरु सुकेर वाटो केहि सहज भएको भएता पनि दिउँसै जंगली जनावर छ्याप्छ्याप्ती देखिने भएकाले छोराछोरी घर नआएसम्म रेखाले चैनको शास लिन पाउदिनन् । ७ बर्षकी कान्छी छोरी र १३ बर्षको माहिलो छोरा ढिकुरबारीबाट करिव आधा घण्टा पैदल दुरीमा पर्ने बिद्यालयमा पढ्न जान्छन् । तर १० कक्षा बढ्ने जेठो छोरा बसन्तपुर बजारमा रहेको बिद्यालय छुटेर घर आउँदा झमक्कै साँझ परिसकेको हुन्छ । “पढ्न नपठाउ पनि भएन पठाउँदा पनि मन आधा आधी हुन्छ” रेखाले भनिन् “वर्षायाम भरि खहरे खोलाको त्रास अनि हिउँदमा जनावरको त्रास, साह्रै कठिन छ यहाँको जनजीवन ।”
माडी नगरपालिका ५ ढिकुरबारी हरियाली टोलका ५१ घर परिवारको कथा रेखासँग मिल्दो जुल्दो छ । उर्लेर आएको खहरे खोलाको डिलमा गएर छोराछोरी कुर्नु हरेक परिवारको दैनिकी भएको हरियाली टोलकी अध्यक्ष सन्तुमाया सुनारले बताईन् । उनी भन्छिन् “खहरे खोलाका कारण आवतजावतमा निकै समस्या हुने गरेको छ, बिच बाटोबाट बग्ने खहरे खोलाले वर्षैपिच्छे बाटो बगाउने गरेको छ । “पटक पटक पुल बनाउन र पक्की बाटो बनाउन स्थानिय तहमा माग गरेको भएपनि अहिलेसम्म नत बाटो बन्यो नत पुल” । यो बर्ष एक किलोमिटर सडक बन्ने योजना परेको वडा प्रतिनिधिले जानकारी गराएको भएपनि अहिलेसम्म काम सुरु नभएको अध्यक्ष सुनारले बताईन् । ढिकुरबारीमा बाटो र पुल बनेर सहज रुपमा यात्रा गर्ने सुबिधा छोराछोरीको पालासम्म पुरा होला कि भन्ने आशा छ, त्यहि पनि भर भने लागेको छैन उनलाई ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित छ ढिकुरबारी बस्ती वरपर चार वटा खहरे खोलाले घेरिएको छ । धनेश, चिसापानी, ढुन्ढुरे र रौतनी जस्ता साना खोला हिउँदमा ढुंगे बगर जस्तो देखिएपनि यी खोलाहरूले बर्षायाममा स्थानीयलाई निकै त्रसित बनाउने गरेको छ । पानीको अत्याधिक बहावका कारण दैनिक जीवनयापनमा समस्या सँगसँगै जमिनको कमजोर संरचनाका कारण कटानको जोखिम पनि उत्तिकै छ ।
चिसापानी खोला किनारको घरभित्रै बाढी पसेर धेरै रात अनिधो वस्नु परेको संझना गर्दै गिता देवी खातीले खोलाका कारण भोग्नु परेको तितो अनुभव सुनाइन् । बाढी छेक्नका लागि स्याउलाको बाँध बनाएर रातभर अनिधो वस्नुपर्ने अवस्था सामाजिक संस्थाको ड्याम निर्माण पछि समस्या केहि कम भएको उनले बताईन् । तर खोलाको बहावले निर्माण पुरा हुने बित्तिकै धेरै ठाँउमा ड्याम भत्किसकेको खातीले बताईन् ।
बाढीको समयमा यस क्षेत्रमा खानेपानीको समेत समस्या हुने गरेको स्थानिय महिलाहरुले बताए । बाढीले धारामा धमिलो पानी आउने र मुहान पुरिदिने समस्या हुने गरेको छ । झरी बन्द भएपछि स्थानिय महिलाहरुले मुहान सफा गर्छन, फोहोर पन्छाउँछन् अनि मात्र धारामा पानी आउँछ । बाढी र बर्षाको पुर्व सुचना नपाएका कारण उनीहरुले पानीको जोहो समेत गरेका हुँदैनन् । घरायसी आवश्यकता, छोराछोरी र गाईवस्तुका लागि आवश्यक पानीको जोहो गर्दा महिलाहरु दोहोरो कामको चापमा पर्ने गरेका छन् । बर्षा हुदैछ भन्ने कुरा एनसेलको फोनबाट कहिले काहीँ मात्र थाहा पाउने गरेको स्थानिय रेखा सुनार बताउछिन् ।
नगरपालिका र वडाले बिपत् आउदै भनेर कुनै जानकारी गराउँदैन ? भन्ने प्रश्नमा स्थानिय धेरै महिलाहरुको अनविज्ञता व्यक्त गरे । प्रविधिमा पहुँच भएका केहि महिलाहरुले भने कहिले काँही वडा कार्यालयले सामाजिक संजालमा राखेको लिखित सुचना देख्ने गरेको बताए । बाढी, बाटो, पुल र पानीको समस्या सँगसँगै जंगली जनावरको आक्रमण र जीविकोपार्जनमा यसले पारेको असरले स्थानीय जनजीवन आम मानिसले सोचेभन्दा निकै कठिन देखिन्छ । बस्ती छेवैमा जोडिएको जंगलको कारण जंगली जनावरको आक्रमणको जोखिम लामो समयदेखि स्थानीयले भोग्दै आएका छन् । जंगलबाट आउने बँदेल र बाँदरले बाली नाली नष्ट गरिदिने गरेका छन् भने बाघको आक्रमणबाट पशु क्षति नभएको घर बिरलै होलान् ?
महिलाहरुको आयआर्जनको मुख्य स्रोत हो पशुपालन । प्रत्येक घरमा महिलाहरुले बाख्रा पालन गरेका छन् तर बाघको आक्रमणले वस्तु जोगाउन साह्रै कठिन भएको स्थानिय कल्पना रामदाम बताउछिन् । जंगलको छेवैमा घर भएकी रामदामको चारवटा बाख्रा बाघले खाइदियो । यहि कार्तिक २८ गते दिउँसै घर पछाडी चरिरहेको खसी बाघले खायो । उनले भनिन् “करिब १२ हजार पर्ने खसि बाघले खाएपनि कहि कतैबाट एक रुपैया सहयोग पाएको छैन” । क्षतिपूर्तिका लागि करिब ४ दिन सम्म धाएको भएपनि झन्झटिलो प्रक्रिया र सहयोगको अभावका कारण आफुले बीचमै छोडिदिएको उनले बताईन् ।
स्थानिय रेखा सुनारको खसी पनि सोही बाघले रातको समयमा खोरबाट नै थुतेर लगेको थियो । रेखा र कल्पना जस्तै धेरै महिलाहरुले आफुले पालेको बाख्रा बाघले खाइदिएको दुखेसो गरेपनि उनिहरुको खोर सुधार भएको छैन । ताल नामक संस्थाले १,२ जना महिलालाई सुधारिएको खोर उपलब्ध गराएको भएपनि स्थानिय तहले सबै महिलाहरुलाई संबोधन हुने गरि कुनै सहयोग नदिएको उनिहरुको गुनासो छ ।
माडी नगरपालिका र वडाले महिलाहरुको लागि सीप विकासको तालिमहरु संचालन गरे पनि ढिकुरवारीका महिलाहरुले आवश्यकता अनुरुपको तालिम र सुबिधा अहिलेसम्म प्राप्त गरेका छैनन् । स्थानिय महिलाहरुलाई सिलाई कटाई र व्युटिसियनको तालिमका लागि बोलाउने गरेको र केहि महिलाहरु त्यस किसिमको तालिममा सहभागी भए । तर पनि उनीहरुले त्यसको उचित प्रयोग गर्न नसकेको टोलकी अध्यक्ष सन्तुमाया सुनार बताउछिन् । उनले भनिन् “हामीलाई सिलाई कटाई र व्युटिपार्लर तालिम भन्दा पनि वन्यजन्तुले बाली नखाने प्रबिधि, घरमा नै बसेर लगाउन सकिने नगदे बालि सम्बन्धि सीप, मल र बिउको आवश्यकता छ ।”
जीविकोपार्जनका लागि स्थानीयवासीसँग न त यथेष्ट जमिन छ, नत भएको जमिनमा आफ्नो स्वामित्व नै छ । केहि आम्दानीको विकल्प खोज्दै प्रत्येक घरका युवा तथा पुरुष सदस्यहरु बैदेशिक रोजगारीका लागि भारत र खाडी मुलुकमा छन् । जिविकोपार्जन, दैनिक जीवनयापन, सन्तानको सुरक्षा जस्ता जिम्मेवारी बहन गर्दै जोखिमको मार यहाँका सिमान्तकृत, बिपन्न र दलित महिलाहरुले खेप्नु परेको छ ।
जलवायु परिवर्तन र भौगोलिक जोखिमका कारण दैनिक जीवनको आधारभुत आवश्यकता पुरा गर्न महिलाहरु निकै कष्ट गरिहेका छन् । सिमित जमिनका कारण सिमान्तकृत परिवारहरु खोला तरेर अर्को गाउँमा अधियाँ खेती गर्न जाने गरेका छन् । त्यहि खेतीका लागि पनि सिँचाईको व्यवस्था नहुदा सोचेजस्तो उत्पादन गर्न सकिदैन । त्यसैमाथि जलवायु परिवर्तनका कारण आवश्यकता पर्दा पानी नपर्ने र खेति थन्काउने बेला पानी पर्ने गरेकाले उनीहरुको आम्दानी झनै अनिश्चित बनेको छ । उनीहरुलाई बेमौसमी बाली र नगदे बालीको लागि स्थानिय तहले नत तालिमको व्यवस्था गरेको छ, नत बिउ, मल र सिँचाइमा सहयोग नै ।
स्थानीयको माग र भौगोलिक जोखिमलाई ध्यानमा नराखी उपलब्ध गराइएका सीप र तालिमहरूबाट महिलाहरुले आयआर्जन गर्न असमर्थ भएको तितो यर्थाथले स्थानिय तहले संचालन गरेको नगरपालिकाको कार्यक्रमको प्रभावकारीतामा समेत प्रश्न उठाएको छ ।
ढिकुरबारी बस्तीको समस्या समाधानका लागि स्थानिय तहले बाँध, पुल जस्ता भौतिक संरचना निमार्ण सँगै जोखिम संवेदनशील जीविकोपार्जन कार्यक्रम, एकीकृत पशुपालन, सुरक्षित बजार पहुँच हुने तालिम संचालन, राहत र अनुदानका कार्यक्रमलाई प्राथमिकता दिनु आवश्यक देखिन्छ ।
स्थानिय तह भने सिमान्तकृत वर्ग, दलित र महिलाहरुको आवश्यकताप्रति संवेदनशील देखिदैनन् । संरचनागत कारण र स्रोतको अभावका कारण समेत समस्या समाधानका लागि उपयुक्त पहल गर्न नसकिएको माडी नगरपालिकाका प्रमुख ताराकाजी महत्तो स्वीकार गर्छिन् । सीमित बजेटबाट असिमित आवश्यकताहरु पुरा गर्नुपर्ने बाध्यता भएकाले महिला तथा सिमान्तकृत समुदायको उत्थानका लागि काम गर्न अफ्ठ्यारो भएको नगर प्रमुख महत्तोले बताइन् । भौगोलिक संरचनाका कारण पनि बाढी नियन्त्रण र तटबन्ध निर्माण जस्ता भौतिक पूर्वाधारका काम नै बाकी रहेको महत्तोको भनाई छ । यद्यपी आफुहरुले सकरात्मक पहल र सुरुवात गरेको भन्दै महत्तोले महिला सशक्तिकरणका लागि आवश्यक कामहरुलाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाको योजना निमार्ण हुने गरेको बताईन् ।
पशुधन क्षतिको परिपूरणका लागि मध्यवर्ती क्षेत्रले काम गरिरहेकाले दोहोरो नहोस् भन्ने उदेश्यले नगरपालिकाले क्षतिपूर्तिको व्यवस्था नगरेको बताउदै महत्तोले प्रक्रियागत काममा भएका कमीकमजोरीलाई आगामी दिनमा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नगरपालिकाले देखाएका जटिलता सँगसँगै माडि नगरपालिकाको नीति तथा कार्यक्रम र त्यसको कार्यान्वयन पक्ष समेत महिलाहरुको सुरक्षा र आर्थिक आवश्यकता संवोधन गर्नका लागि पुर्ण रुपमा संवेदनशील हुन आवश्यक देखिन्छ ।

प्रतिकृया दिनुहोस्