☰
चितवन, ४ चैत ।
नाटकको माध्यमबाट चितवनमा पर्यटन प्रवर्द्वन गर्ने योजना सहित यही चैत १० देखि १२ गतेसम्म नाट्य महोत्सव हुने भएको छ । नाट्य विधामार्फत् चितवनलाई विश्वसामु चिनाउनको लागि पहिलोपटक अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना गर्न लागेको सोमबार नारायणी कला मन्दिरमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
विविध सांस्कृतिक एवम् ऐतिहासिक सम्पदाले भरिएको जिल्लामा विकसित हुँदै गरेको नाट्य परम्परालाई संरक्षण र सम्वर्द्वन गर्नका लागि महोत्सवले विशेष भूमिका खेल्ने महोत्सवका निर्देशक अञ्जान प्रदीपले बताए ।
यस महोत्सवले नेपाली र अन्तर्राष्ट्रिय नाट्यकर्मीहरूलाई एउटै मञ्चमा ल्याई सांस्कृतिक आदानप्रदानलाई प्रबर्द्धन गर्नुका साथै चितवन जिल्लालाई नाट्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको निर्देशक प्रदीपले बताए ।
चैत ६ गतेदेखि १२ गतेसम्म मण्डला थिएटर नेपालको आयोजनामा काठमाडौंमा हुने तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको अवसर पारेर चितवन जिल्लामा पनि नाट्य कलाको उत्थान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सव निर्देशक अञ्जान प्रदीपले बताए ।
तरङ्ग नाट्य समूह चितवन, कर्मी चौतारी चितवन र नारायणी कला मन्दिरले संयुक्तरूपमा आयोजना गर्न लागेको नाट्य महोत्सवमा नेपालसहित जापान, इरान, स्पेन, लिथुवानिया र भारतका पाँच वटा नाटक मञ्चन हुने छन् ।
तीन दिनसम्म चल्ने महोत्सवमा देशी तथा विदेशी गरी करिब ४० जना रङ्गकर्मी चितवनमा हुने महोत्सवका संयोजक देवकुमार श्रेष्ठले जानकारी दिए । ‘यो महोत्सवबाट करिब तीन हजार स्थानीय विभिन्न कोणबाट लाभान्वित हुने लक्ष्य लिइएको छ’, तरङ्ग नाट्य समूहका संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठले भने ।
नाटकले समाजलाई सत्मार्गमा हिँडाउन सिकाउने भएकोले यसको संरक्षण आवश्यक परेको उनको भनाइ छ । ‘इतिहास हेर्ने हो भने देशमा भएका विभिन्न परिवर्तन र त्यसका लागि भएका आन्दोलनमा नाटकले बलियो भूमिका निर्वाह गरेको देखिन्छ’, उनले भने, ‘किनकि नाटक भनेको समाज देखाउने ऐना हो, चेतना जगाउने माध्यम हो ।’ पछिल्लो समय नेपाली नाटकको दायरा निकै फराकिलो बन्दै गएको बताउँदै उनले थपे, ‘पछिल्ला समय देशबाहिर प्रदर्शन भएका नेपाली नाटकले विदेशीहरुको पनि मन जितेको छ, यसलाई नेपाली नाटकको सफलता मान्नुपर्छ ।’
विशुद्ध मनोरञ्जनमात्रै नभई यसबाट शिक्षा र सन्देश लिन सकिन्छ भन्ने ज्ञान दर्साउनका लागि पनि पहिलोपटक अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना गरिएको उनले बताए । ‘नेपाली समाजमा नाटकको योगदान महत्त्वपूर्ण छ, जसले मनोरञ्जनमात्रै नभएर सामाजिक सचेतना र परिवर्तनका लागि बलियो माध्यमको रुपमा काम गर्दै आएको छ’, उनले भने, ‘यही उद्देश्यलाई आत्मसात् गर्दै समाजमा रहेका विभिन्न विषयवस्तुमा केन्द्रित नाटक मञ्चन हुनेछन् ।’
राजधानीस्थित मण्डला थिएटरमा हुने तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको अवसर पारेर चितवन जिल्लामा पनि नाट्य महोत्सव गर्ने तयारी गरेको आयोजकले जनाएको छ । महोत्सवको नारायणी कला मन्दिरतर्फका संयोजक निरञ्जन प्रधानका अनुसार यस महोत्सवले चितवन जिल्लाको कला, संस्कृति, र पर्यटनलाई प्रवर्द्वन गर्दै स्थानीय तथा अन्तर्राष्ट्रिय रङ्गकर्मीहरुलाई अनुभव र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ । प्रधानका अनुसार नाटक प्रदर्शनी हरेक दिन दिउँसो ३ बजे र ५ बजे हुनेछ । नाटक अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले बताए ।
प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सवको सहआयोजकका रूपमा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज, इनोभेटिभ एसोसिएट्स, सम्पूर्ण किताब नारायणगढ, अङ्कुरम् एकेडेमी, गैँडाकोट इंग्लिस स्कुल, न्यू क्यपिटल कलेज रत्ननगर, डबली द स्पेस, ओम शान्ति एकेडेमी भरतपुर र चितौन कचेहेरी छन् । प्रबर्द्धकको रूपमा भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ चितवन छन् । महोत्सव संरक्षकको रुपमा नारायणी कला मन्दिर नारायणगढका अध्यक्ष रोहितकुमार श्रेष्ठ रहेका छन् ।

प्रतिकृया दिनुहोस्