चितवन, २० माघ ।
मौलाकालिका अस्पताल भरतपुरले भोली अर्थात माघ २१ गतेबाट आफ्नै भवनबाट सेवा सुभारम्भ गर्ने भएको छ । ०६७ सालदेखि चौबीसकोठीबाट एयरपोर्ट चोक चौविसकोटीमा संचालनमा रहेको अस्पतालले आईतबार भरतपुर वाईपासमा रहेको आफ्नै भवनमा पत्रकार सम्मेलनको आयोजना गरि संचालनको जानकारी दिएको हो ।
नयाँ भवनवाट सेवा सुरु गर्दै गर्दा अस्पतालले ओपिडि सेवा निशुल्क गरेको छ भने अस्पतालका अन्य सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरेको अस्पतालका अध्यक्ष डा.माणिकलाल मानन्धरले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । नयाँ भवनबाट सेवा सुभारम्भ गरेको अवसरमा माघ २१ गतेदेखि ३० गतेसम्म बिभिन्न किसीमका छुट तथा बिशेष सेवाहरु उपलब्ध गराएको भन्दै अध्यक्ष मानन्धरले अस्पतालमा सम्र्पक गर्नका लाग सबैलाई अनुरोध गर्नुभएको छ । भरतपुर ११ बाईपास रोडमा १० कठ्ठा जमिनमा आफ्नै भवन निर्माण गरेको अस्पतालले भवनमा नयाँ र अत्याधुनिक मेसिनहरु समेत जडान गरेको छ ।
नेपाल सरकारको नयाँ मापदण्ड अनुरुप निमार्ण गरिएको सात तला भएको अस्पताल भवनमा अत्याधुनिक ३ वटा अपरेशन कक्षहरु साथै, बालबालिकाका लागि एन आई सि युको सुबिधा समेत रहेको अस्पतालका डाक्टर केशवराज भुर्तेलले जानकारी दिनुभयो । अस्पतालमा बिरामीहरुको सुबिधालाई मध्यनजर गरि २० जना क्षमता भएको २ वटा लिफ्ट, इमर्जेन्सीका लागि छुट्टै भर्याङको समेत व्यवस्था गरिएको छ । हाल ५० शैयामा सेवा स्वीकृत लिएर संचालनरत रहेको अस्पतालको भौतिक संरचना एक सय शैया सम्म विस्तार गर्न सकिने गरि निर्माण गरिएको छ ।
२४ घण्टा इमर्जेन्सी र एम्बुलेन्स सेवा रहेको अस्पतालमा सामाजिक सुरक्षा कोषबाट उपचार गर्ने व्यवस्था समेत रहेको छ । अस्पतालमा दुरविन प्रविधिबाट मुत्रासय (पत्थरी र पित्तथैली) को चिरफार विना शल्यक्रिया हुने गरेको उहाँले जानकारी दिनुभयो । आफ्नै फार्मेसी रहेको अस्पतालमा चौबीसी घण्टा चिकित्सक उपलब्ध हुने गरेको अध्यक्ष डा.मानन्धरको भनाई छ ।

प्रतिकृया दिनुहोस्