चितवन : नेपाली काँग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा चितवनमा पार्टीको आन्तरिक चुनावी सरगर्मी बढेको छ। यसै क्रममा चितवन क्षेत्र नं. २ बाट क्षेत्रीय सह-सचिव (महिला) पदका लागि भरतपुर ७ का जनप्रतिनिधि युवा नेत्री अमृता गौतम (पौडेल) ले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
“राष्ट्रियता, लोकतन्त्र र समाजवाद” को मूल मर्मलाई आत्मसात् गर्दै १५ औँ महाधिवेशनलाई भव्य रूपमा सफल पार्न र पार्टी संगठनलाई थप सुदृढ बनाउन आफूले उम्मेदवारी दिएको गौतमले बताउनुभएको छ।
“समृद्ध समाज, सशक्त महिला, समुन्नत नेपाल” भन्ने मुख्य नारासहित चुनावी मैदानमा उत्रिनुभएकी उहाँले महिला सशक्तीकरण, सामाजिक रूपान्तरण र स्थानीय तहमा पार्टीको संगठन विस्तारलाई आफ्नो मुख्य प्राथमिकता बनाउनुभएको छ।
लामो समयदेखि पार्टी र समाजसेवामा सक्रिय रहँदै आउनुभएकी अमृता गौतमले क्षेत्र नं. २ का सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूलाई १५ औँ महाधिवेशनमा आफूलाई अमूल्य मत दिई विजयी गराउन अपिल गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्