चितवन। अरुणोदय माध्यमिक विद्यालय, भरतपुर महानगरपालिका–६, गीतानगरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भरतपुर महानगरपालिका वडा नं. ६ का वडा सदस्य रुद्र अधिकारी निर्विरोध चयन हुनुभएको छ।
आज सम्पन्न विद्यालय व्यवस्थापन समितिको बैठकले अधिकारीलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो। बैठक विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य शिव प्रसाद लामिछानेको अध्यक्षतामा बसेको थियो।
नवनिर्वाचित अध्यक्ष अधिकारीले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीमैत्री वातावरण निर्माण, भौतिक पूर्वाधार विकास तथा विद्यालय र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
विद्यालय परिवारले अध्यक्ष अधिकारीको नेतृत्वमा विद्यालयले थप प्रगति हासिल गर्ने विश्वास व्यक्त गरेको छ। साथै विद्यालयको समग्र विकास, शैक्षिक सुधार र समुदायसँगको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
भरतपुर वडा नं ६ का अध्यक्ष कृष्णलाल श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक तथा समस्त विद्यालय परिवारले नवनिर्वाचित अध्यक्ष अधिकारीलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्