चितवन: देवघाटधाम जेसीजको आयोजनामा “सशक्त नारी, सबल समाज” भन्ने प्रेरणादायी मूल नारासहित महिला सशक्तिकरण सम्बन्धी विशेष कार्यक्रम भव्य तथा प्रभावकारी रूपमा सम्पन्न भएको छ। कार्यक्रम नमस्ते देवघाट गार्डेन रिसोर्ट मा आयोजना गरिएको थियो।
कार्यक्रमका संयोजक देवघाटधाम जेसीज वर्ष २०२६ कि कार्यकारिणी उपाध्यक्ष जेसी स्वस्तिका धिताल रहनुभएको थियो भने सभापतित्व देवघाटधाम जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी अर्जुन सुवेदीले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसी स्वप्ना पौडेल भण्डारीको गरिमामय उपस्थिति रहेको थियो। प्रमुख प्रशिक्षकका रूपमा पत्रकार अजिता अधिकारीले महिला सशक्तिकरण, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक सहभागिताका विविध पक्षहरूमा प्रभावकारी प्रशिक्षण प्रदान गर्नुभएको थियो।
कार्यक्रम सहयोगी URBAN Nest, नारायणगढका तर्फबाट सञ्चालिका तथा उद्यमी सुनिता घिमिरेले आफ्नो उद्यमशीलता यात्रा, चुनौतीहरू र सफलताका अनुभवहरू सहभागीहरूसँग साझा गर्नुभएको थियो। उक्त अनुभव आदान–प्रदान सत्रले कार्यक्रममा थप ऊर्जा र प्रेरणा प्रदान गरेको थियो।
साथै, Himalayan Harvest, भरतपुरका तर्फबाट कार्यक्रमका अतिथि तथा प्रशिक्षकहरूलाई मायाको चिनो सौजन्य गरी कार्यक्रमलाई थप सम्मानजनक बनाइएको थियो। कार्यक्रमको सञ्चालन देवघाटधाम जेसीज वर्ष २०२६ की कोषाध्यक्ष जेसी रक्षा कार्कीले कुशलतापूर्वक गर्नुभएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका ६४ जना महिलाहरूको सक्रिय तथा उत्साहजनक सहभागिता रहेको थियो।
यस अवसरमा देवघाट महिला सञ्जालकी अध्यक्ष राधा खनालसहित विभिन्न महिला समूहका अध्यक्षहरू, देवघाटधाम जेसीजका पदाधिकारी तथा सदस्यहरू, पूर्व अध्यक्ष जेसी रघु मल्ल तथा निवर्तमान अध्यक्ष जेसी प्रशन्न ढकाल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका दौरान महिलाहरूको क्षमता अभिवृद्धि, आत्मनिर्भरता, नेतृत्व विकास तथा समाज निर्माणमा महिलाको भूमिकाबारे सार्थक छलफल तथा अन्तरक्रिया सम्पन्न गरिएको थियो। सहभागीहरूले कार्यक्रमलाई अत्यन्तै प्रेरणादायी, ज्ञानवर्धक र व्यवहारिक रहेको प्रतिक्रिया दिएका थिए।
कार्यक्रमको समापन गर्दै सभापति जेसी अर्जुन सुवेदीले सम्पूर्ण अतिथि, प्रशिक्षक, सहभागी तथा सहयोगी संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले सशक्त महिला मार्फत सुदृढ समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै आगामी दिनमा समेत यस्ता सिर्जनात्मक तथा परिवर्तनमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिकृया दिनुहोस्