चितवन/सात समुन्द्र पारिको देश अष्ट्रेलियाबासी “जेनेल” को लागि नेपाल दोश्रो घर जस्तै बनेको छ । सामाजिक सेवा र नेपाली छोरीहरुको सशक्तीकरणको लागि उनले नेपाल यात्रा गर्न थालेको १० बर्ष भन्दा धेरै समय भैसक्यो । उनका लागि नेपाल अब केवल एउटा विदेशी मुलुक रहेन, बरु उनको कर्म र आत्मियता जोडिएको दोस्रो घर बनेको छ ।
नेपाली छोरीहरुको शिक्षा,सिप र शसक्तिकरणसँगै नेपालको राजनितिक परिवर्तन र सामाजीक परिवेशमा समेत गहिरो जानकारी राख्छिन् उनी । एभ्री डटर म्यासर्ट नामक अष्ट्रेलियन संस्थाको प्रशासकीय प्रमुखका रुपमा नेपालसँग सम्बन्ध जोडेकी “जेनेल” नेपाली समाजको पिँधमा रहेका महिला र बालिकाहरूको उत्थानका लागि हरसंभव प्रयास गर्न तत्पर देखिन्छीन् ।
नेपाली छोरीहरुको रुपान्तरणका लागि उनले “गिभ टु गेन” अर्थात् “उपलब्धिका लागि समर्पण” अभियान संचालन गर्दै आएकी छन् । यो केवल नेपाली छोरीहरुको जिवन परिवर्तन गर्ने अभियान मात्र नभई हरेक व्यत्तिले यसलाई आफ्नो जिवन दर्शन बनाउन आवश्यक भएको उनको भनाई छ ।
कुनै एक व्यत्तिले अर्को व्यक्ति अथवा कुनै एक समाजले अर्को समाजलाई सहयोग गर्दा ’च्यारिटी’ वा दानको रुपमा सहयोग गर्ने अवधारणाले मानिसलाई परनिर्भर बनाउने उनको बुझाई छ ।
तर ’गिभ टु गेन’ को दर्शनले नेपाली छोरीहरुलाई गरेको लगानीलाई दान, चन्दा वा दया भन्न मन पराउदैन । छोरीहरुको आत्मनिर्भरताको जग बसाल्नका लागि गरिएको प्रयासको रुपमा नेपालमा आफुले गरिरहेको सेवालाई व्याख्या गर्न रुचाँउछिन् उनी । नेपाली छोरीहरुका लागि आफुहरुले गरेको लगानी अथवा सहयोग उनीहरुको उज्वल भविष्यका लागि गरिएको सबैभन्दा उत्तम लगानी हो भन्ने उनको बुझाई छ ।
उनले अष्ट्रेलियाको उदाहरण दिँदै भनिन्, त्यहाँ प्रत्येक छोरीको महत्व बुझिएको छ तर नेपालमा व्यवहारिक रूपमा अझै धेरै काम गर्न बाँकी रहेको रहेको छ ।
नेपालमा पनि सरकारले महिला सुरक्षाका लागि कानुनहरू बलियो बनाएकोमा खुसी व्यक्त गर्दै व्यवहारिक रुपमा देखिएको बालबिवाह लगायतका समस्यामा उनले चिन्ता व्यक्त गरिन् ।
विद्यालय र विवाहको सम्बन्धलाई स्पष्ट पार्दै “जेनेल” भन्छिन् , “हामीलाई थाहा छ, जब बालिकाहरूले विद्यालय जाने र शिक्षा पाउने अवसर पाउँछन्, तब बालविवाहको दर स्वतः घट्दै जान्छ । ’गिभ टु गेन’ को अर्थ नै बालिकाहरूलाई सानैमा विवाहको बन्धनमा बाँध्नुको सट्टा उनीहरूको हातमा कलम र पुस्तक थमाउनु हो ।
उनले नेपाली समाज र परिवारलाई प्रश्न गर्छिन्, के हामी हाम्रा छोरीहरूलाई पनि छोराहरू सरह समान अवसर दिन तयार छौँ? छोरा र छोरीबीचको यो विभेद अन्त्य नभएसम्म समाजको पूर्ण विकास सम्भव नभएको उनको बुझाइ छ ।
छोरीलाई शिक्षा दिनु खर्च होइन, यो भविष्यको लगानी हो भन्ने उनको बुझाई छ । नेपाली छोरीहरु परिवारका लागि बोझ र समाधान गर्नुपर्ने समस्या नभई समाजका लागि उपहार भएको “जेनेल”को बुझाई छ । छोरीहरू आर्थिक रूपमा सशक्त हुँदा मात्रै परिवार र समुदाय समृद्ध हुने उनको अनुभव छ ।
१० वर्ष भन्दा बढि समय नेपालमा पटक पटक गरेको यात्रा र नेपाल प्रतिको अध्ययन र चासोका क्रममा उनले धेरै परिवर्तनहरू देखिन्, तर छोरीहरुको व्यवहारीक जिवनमा भने उल्लेख्य परिवर्तन भएको छैन । उनी चाहन्छिन् कि नेपालका हरेक कुनाका छोरीहरूले आफ्नो क्षमता अनुसारको आकाश पाउन् । अष्ट्रेलियाबाट आएकी यी सेवाकी प्रतिमूर्तिले नेपाली समाजलाई एउटा महत्वपूर्ण ऐना देखाइदिएकी छिन्, छोरीको सम्मान र शिक्षा नै राष्ट्रको समृद्धिको साँचो हो ।
उनले यो अभियानलाई कुनै एउटा संस्था वा व्यक्तिको मात्र नभई सरकार, प्रहरी, नागरिक समाज र प्रत्येक परिवारको साझा दायित्वका रूपमा परिभाषित गरेकी छन् । “जेनेल” को यो १० वर्षको समर्पणले, सेवाका लागि भूगोलले रोक्दैन, केवल एउटा सफा मन र अठोट चाहिन्छ भन्ने प्रमाणीत गरेको छ । उनको ’गिभ टु गेन’ अभियानले साँच्चै नै नेपाली समाजमा छोरीहरुको शसक्तिकरणका लागि सकारात्मक परिवर्तनको बिजारोपण गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्