सिन्धु ढकाल । चितवन
धान काटेर सुकाएका बेला आएको पानीले, बालि सद्दे भित्राउन पाइनन् माडी ५ ढिकुरबारीकी सन्तुमाया सुनारले । खेति लगाउने आफ्नो जमिन नभएपछि उनले १० कठ्ठा जमिनमा अधियाँ खेति गरेकी छन् । सुनार भन्छिन् “कुबेलामा भएको वर्षाले मुखैमा आएको खेति तलाउमा भिज्यो, १० दिन भन्दा बढि समय धान सुकाउने र उठाउने गर्दैमा ठिक्क भयो ।” थन्काउने बेला पानी परेर समस्या भयो भने बाली लगाउने बेला पानी नभएर । खेत रोपाईका बेला खडेरीले पाएको दुख उनले अझै बिर्सेकी छैनन् । त्यतिबेला अर्कैको बोरिगंको पानी मागेर रोपाई गरेको सुनारले बताईन् । थन्काउने बेला आएको पानीले आधा भन्दा बढि धान बारीमा नै उम्रिएर खेर गएको र पराल कामै नलाग्ने भएको छ । “हिउँदका दिनमा पानी पर्ला भन्ने अनुमान पनि भएन ।” उनले भनिन् “नत कसैले पानी पर्दैछ भन्ने जानकारी दियो, नत आफुले अनुमान नै गर्न सकियो, एक्कासी परेको पानीले मुखैमा आएको वाली लथालिंग बनायो ।”
सोही गाउँकी जमुना बिश्वकर्माले भने मोवाइलबाट पानी पर्ने थाहा पाइन् । जसले गर्दा उनले बेलैमा धान बाली थन्काउन भ्याइन् । “मोबाईल हेर्न जान्ने दिदी बैनिहरुले, पानी पर्दैछ भन्ने थाहा पाएर समयमा नै धान थन्काएको भएपनि धेरै जनाको बाली पानीले काम नलाग्ने बनाएको देख्दा नराम्रो लाग्यो” उनले भनिन् । नगरपालिका र वडा कार्यालयले भने सर्वसाधरणलाई बिपत्तको पुर्व सुचना दिने गरेको पाइएन । एन सेलको मोबाइलले “बाढी आउदैछ” भनेर दिने सुचना नै आफुहरुको आधिकारीक सुचना भएको स्थानीयले बताए ।
जमुना र सन्तुमाया जस्तै जमिनमा आफ्नो अधिकार नभएका कारण अरुको जमिन अधियाँ, ठेक्का गरेरै कृषिमा निर्भर रहेका विपन्न परिवारलाई रोपाईका बेला पानीको जोहो गर्दा पर्ने आर्थिक भार र बाली थन्काउने बेला पर्ने बेमौसमी पानीले खाद्य सुरक्षामा गंभीर संकट उत्पन्न भएको छ । दुख गरेर थन्काएको अन्नले आधा बर्ष खान पनी धौ धौ पर्ने स्थानीयले बताए ।
ढिकुरबारीमा मात्रै होईन माडी ३ गुल्मेली टोलमा समेत बेमौसमी पानी र खडेरीका कारण कृषकहरु दोहोरो मारमा परेका छन् । निर्वाहमुखी कृषि गरिरहेका महिलाहरुलाई थोरै जमिनमा लगाएको खेति पनि घरमा नथन्काएसम्म मन ढुक्क हुदैन । गुल्मेली टोलकी सुनिता सुनारले ५ कठ्ठा जग्गामा लगाएको धान काट्न नपाउदै पानी पर्यो । आकाशे पानी खेतमा जमेकाले धान काट्नलाई सारै दुख भएको उनले बताईन् ।
५० भन्दा बढि घर परिवार भएको गुल्मेलि टोलमा अधिकाशं दलित र जनजाती समुदायको बसोबास रहेको छ । स्थानिय दिलकुमारी वि कले छिट्टै पाक्ने धान लगाएका कारण धान बाली थन्काएर खेतमा आलु लगाएकी थिईन् । “कुबेलामा आएको पानीले उम्रिसकेको आलु सबै कुहिएर, फेरि लगाउन पर्यो” दिलकुमारी भन्छिन् “बाँकी खेतमा तोरी छर्नका लागी समेत वारी चिसो भएर ढिलायो ।”
वर्षायाममा चुरे र निकुञ्जबाट आउने बाढी र खहरेको कटानले नदि किनारका बासिन्दाहरुको घरखेत डुवाउछ अर्कोतिर हिउँद र प्रि मनसुनमा लामो खडेरीले किसानको धान, मकै र तरकारी बाली समेत सुकाउने गरेको छ ।
बिपत् व्यवस्थापन र न्युनिकरणका लागि स्थानीय तहले हरेक बर्ष मोटो रकम खर्च गर्ने गरेको भएपनि जलवायु परिवर्तनले ल्याएको प्रभाव, बेमौसमी बर्षा लगायतका बिषयमा सचेतना र जानकारी दिने काम प्राथमिकतामा पर्न सकेको छैन । टोल पिच्छे रहेका खहरे खोलाको कटान रोक्नका लागि तटबन्ध निर्माण, पुल लगायतका भौतिक पुर्वाधार निमार्ण लगायतका बिषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको माडी नगर प्रमुख ताराकाजी महत्तो बताउँछिन् ।
स्थानिय सरकारको ध्यान र स्रोत साधन भौतिक संरचनामा बढि गएको भएता पनि प्रकोपको पुर्व सुचना प्रणालीलाई समुदाय स्तरमा प्रभावकारी रुपमा संचालन गर्नका लागि समेत पहल गरिरहेको महत्तो बताईन् । पुर्व सूचनाका लागि सामाजिक संजाल र लिखित सुचना निकाल्ने गरेको भएपनि प्रविधिमा पुर्ण ज्ञान र जानकारी समेत नहुदा सिमान्तकृत समुदायको सूचनामा पहुँच नपुगेको देखिन्छ ।
सार्वजनिक सूचनाका लागि टोल टोलमा कटुवालकै भरः बिपत्को पुर्व सुचना कटुवाललाई नै थाहा हुदैन
माडी नगरपालिका ६ स्याउलीबासका सुक बहादुर दर्जी हातमा माइक बोकेर टोलका बिभिन्न कार्यक्रमहरूका बिषयमा जानकारी दिन्छन् । विशेषगरी गाउँमा संचालन गरिने पूजापाठ, बैठक, खोप, आम भेला, लगायतका बिषयमा सुचना प्रवाह गर्ने जिम्मा उनको हो । दक्षिणकाली टोल सँगै स्याउली वासमा रहेका ४ वटा टोलहरूको सुचना संवाहक अर्थात कटवालको काम दर्जीको जिम्मामा छ । टोलको नियमित बैठक र अन्य बिशेष छलफलका लागि समेत दर्जीले नै घर घरमा सुचना पुर्याउने गरेका छन् ।
माडी कल्याणपुरकी ४५ बर्षिय हरि माया बि कको काम पनि सुक बहादुरको जस्तै छ । उनले कल्याणपुरका बिभिन्न टोलहरुमा कटुवालको भुमिकामा काम गर्दै आएकी छन् । गाउँमा आयोजना गरिने बिभिन्न गतिबिधिमा बिषयमा चोक चोकमा माईकिगं गरेर प्रत्येक घरसम्म जानकारी पुर्याउने काम गरे बापत स्थानिय वासीले कटुवाललाई बार्षिक केहि रुपैया र धान दिने गरेका छन् । तर उनीहरुले अहिलेसम्म बाढी, पहिरो अथवा विपत आउँदैछ भन्ने किसिमको सुचना भने स्थानीयलाई दिएका छैनन् । वडा तथा नगरपालिकाबाट प्राप्त हुने अन्य सूचनाहरु भने उनीहरुले प्रवाह गर्ने गरेका छन् ।
माडी युवा स्वयम् सेवक समुहका सदस्य, माडी ६ स्याउली वासका मिरन दनुवार स्थानिय टोल बिकास संस्थाका सचिव समेत हुन् । उनले स्थानिय तहले मोवाईल म्यासेज, फेसबुक जस्ता माध्यममा प्रकाशित गर्ने सुचना सबैले हेर्न नसक्ने भएकाले सुचना संवाहकका रुपमा कटुवालहरूले काम गर्दै आएको बताए । बिपत्को पुर्व सुचना प्रवाहलाई प्रभावकारी बनाउन कटुवालले काम गर्न सक्ने भएता पनि त्यस किसिमको अभ्यास भने भएको छैन । प्रत्येक घरका युवाहरु बैदेशिक रोजगार भएका कारण गाउँमा बृद्ध बुबा आमा मात्र छन् । जसले मोवाईल चलाएपनि सबै सूचनाहरु समयमा हेर्न मेसो पाउदैनन् । त्यसैले कटुवाल लगाएर सुचना दिदा ढुक्क हुन्छ । मिरेनले भने “यो हाम्रो परम्परासँग जोडिएको बिषय भएकाले पनि माडीका धेरै ठाँउमा कटुवाल लगाउने चलन कायमै रहेको छ ।” प्रकोपको जोखिम न्युनिकरणका लागि आधुनिक प्रबिधि सँगसँगै परम्परागत कटुवाल प्रथालाई समेत जोड्न सके समयमा नै बिपत्तको सुचना हरेक नागरिकको घर सम्म पुर्याउन सहज हुने युवा स्वयमसेवक मिरनको बुझाई छ ।
ग्रामिण भेगका नागरिकमा प्रबिधिको पहुँच कम भएका कारण परम्परागत रुपमा सुचना संवाहकका रुपमा रहेका कटुवालहरूलाई परिचालन गर्ने उदेश्यले माडी नगरपालिका ३ नं वडा कार्यालयले उनीहरुसँग छलफल समेत गरेको थियो । बाढी आईसकेपछि खतराको जनाउ दिनका लागि साईरनबाट सन्देश दिने गरेको माडी नगरपालिका वडा नं ३ का अध्यक्ष पुरन महत्तो बताए । वडा नं ३ भित्र रहेका ४ जना कटवालहरुलाई बोलाएर आफुहरुले पुर्व सूचनाका लागि सहजीकरण गर्न आग्रह गरेको महत्तो बताए । तर वडा कार्यालयले उनीहरुको लागी कुनै सुचना सामाग्री र सेवा सुविधाको व्यवस्था भने गरेको छैन ।
आवश्यकता अनुसार बजेट व्यवस्थापन हुन नसकेका कारण पुर्व सुचना प्रवाहका लागी स्रोत व्यवस्थापन गर्न नसकेको उनले स्विकार गरे । ठुलो पानी पर्दैछ भन्ने सुचना साथै स्थानिय तहले तय गरेको सुरक्षित स्थानहरुको बिषयमा वडा कार्यालयले विपत व्यवस्थापन समिति मार्फत कटवाल सम्म जानकारी पुर्याउने र कटवालले टोलमा खवर गर्ने गरेको वडा अध्यक्ष महत्तो बताए ।
स्थानिय भौगोलिक अवस्था र प्रबिधिको पहुँचलाई मुल्यांकन गर्दा निकुञ्ज र खहरे खोलाको बाढीको उच्च जोखिममा रहेको माडीमा विपद् पुर्व सुचना प्रणालीलाई समुदाय स्तरसम्म पुर्याउन परम्परागत कटुवाल प्रथाको प्रयोग गर्ने बिषयमा स्थानीयस्तरमा बहस गर्नु आवश्यक देखिन्छ । साइरन र मोबाइलको पहुँच नभएका टोलहरुमा कटुवालले तत्काल सूचना प्रवाह गर्न सक्ने भएपनि कानुनी वैधानिकताका बिषयमा भने स्थानिय तह सचेत हुनु आवश्यक देखिन्छ ।
नेपालको कानुनले कटुवाल प्रथालाई सीधै निषेध नगरेको भएपनि संबिधानको मौलिक हकको धारा २९ मा शोषण बिरुद्धको हकले बिना पारिश्रमिक श्रम गराउन नपाउने व्यवस्था गरेको छ । परम्परालाई जगेर्ना गर्दै कटुवाललाई बिपत् सुचना संवाहकको रुपमा प्रयोग गर्दै गर्दा स्थानिय तहले पारिश्रमिक र निश्चित सुबिधा सुनिश्चितता गर्नु उचित हुने देखिन्छ । परम्पराको निरन्तरता सँगै मर्यादित सेवाको स्थापना गर्न सके विपद्को सुचना घर घरसम्म पुर्याउन सहज हुने देखिन्छ ।

प्रतिकृया दिनुहोस्