चितवन १४,बैशाख ।
आइतबार जापानको ओसाकामा सम्पन्न २१औँ वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चितवनबाट सहभागी खेलाडीहरूले तीन वटा स्वर्णपदक जितेका छन् । भरतपुर-११, बर्मेलीचोकस्थित प्रेरणा तेक्वान्दो डोजाङबाट सहभागी तीन जना खेलाडीले एक-एक वटा स्वर्णपदक जितेका हुन् ।
तीन जना खेलाडीमध्ये योगेश कवर योगीले ३० वर्षमुनिको उमेर समूहमा एकल पुम्से अन्तर्गत स्वर्णपदक जितेका छन् । प्रतियोगितामा फाइटतर्फ ४८ केजी तौल समूहमा सुलभ शर्मा र पुम्सेतर्फ १४ वर्ष उमेर समूहमा सफल लामाले थप स्वर्णपदक जितेका छन् ।
बैशाख १२, १३ र १४ गते २१ औं वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका खेलहरू भएका थिए । प्रतियोगितामा सहभागी हुनका लागि प्रेरणा तेक्वान्दो डोजाङका संस्थापक अध्यक्ष योगेश कवर योगीसहित चितवनका दुई जना खेलाडी जापानको ओसाका प्रस्थान गरेका थिए ।
यसअघि कवर योगीको नेत्तृत्वमा २०८१ साल असोजको ५ र ६ गते भारतको कोलकत्तामा भएको अन्तर्राष्ट्रिय मार्सलआर्ट प्रतियोगितामा नेपालले दोस्रो स्थान हासिल गरेको थियो । उक्त प्रतियोगितामा प्रेरणा तेक्वान्दो डोजाङबाट ६ जना खेलाडी सहभागी भएका थिए ।
२०८१ साल कात्तिक १० र ११ गते थाईल्याण्डमा भएको १०औं तिराक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रेरणा तेक्वान्दो डोजाङबाटै ४ जना खेलाडी सहभागी भई पुम्सेतर्फ एक जनाले रजतपदक र ३ जनाले कास्यपदक जितेका थिए । फाइटतर्फ पनि ४ जना खेलाडी सहभागी भएई एक जनाले रजतपदक र ३ जना कास्यपदक जितेका थिए ।

प्रतिकृया दिनुहोस्