चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बालकृष्ण श्रेष्ठ मेमोरियल अवार्ड प्राप्त गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सको ७४ औं वार्षिक साधारण सभाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अवार्ड प्रदान गर्नुभएको हो । काठमाण्डौंमा आयोजित कार्यक्रममा अस्पतालका प्रशासकीय प्रमुख प्रताप देवकोटालाई प्रधानमन्त्री ओलीले उक्त अवार्ड प्रदान गर्नुभएको हो ।
समुदायलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, जनचेतना, आकस्मिक उद्धार तथा अन्य सेवाहरु सञ्चालन गर्दै आएको र कोभिड प्रकोपको समयमा समुदाय तहमा निर्वाह गरेको उल्लेखनीय योगदानको कदर गर्दै सो अवार्ड प्रदान गरिएको हो ।
सात सय शैयामा सञ्चालित सिएमसीले चितवनमा रहेर अति विशिष्टिकृत सेवा सहितको उपचार सेवा दिंदै आएको छ । कोभिडको समयमा सिएमसीले गरेको योगदानको सर्वत्र प्रशंसा हुने गरेको छ ।
सिएमसीले भगिनी संस्थाको रुपमा सबै खाले क्यान्सर उपचार हुने गरी सिएमसी क्यान्सर इन्स्टिच्यूट पनि सञ्चालन गरेको छ । जहाँ स्वास्थ्य बीमा, विपन्न उपचार सहित सरकारी अस्पतालको दररेटमा नै क्यान्सरको उपचार हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्