चितवन, २४ माघ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दामा आज दोस्रो दिन पनि चितवन जिल्ला अदालतमा बहस जारी छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई अदालतमा उपस्थित गराएसंगै थुनछेक बहस सुरु भएको हो ।
आज छिमेकी जिल्लाबाट आएका जिल्ला न्यायाधिवक्ताहरुले बहस सुरु गरेका छन्। बारा जिल्लाबाट आएका न्यायाधिवक्ता शम्भु कुमार बस्नेत, पर्सा जिल्लाका न्यायाधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाका न्यायाधिवक्ता दशरथ पंगेनीले बहस गरेको सूचना अधिकारी विश्वकर्माले जानकारी दिनुभयो।
अहिले जाहेरवाला सहकारी पीडिततर्फका अधिवक्ताहरुको बहस चलिरहेको छ । सहकारी पीडितको तर्फबाट हिजो ४ जनाले वकालतनामा लेखाएका थिए भने आज थप वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु सुरेन्द्र भण्डारी र रामचन्द्र गौतमले वकालतनामा दर्ता गराएका थिए । जाहेरवालातर्फको वकिलहरुको बहस सकिएपछि प्रतिवादी रवि लामिछानेका तर्फबाट वकिलहरुले बहस गर्नेछन् ।
लामिछानेको तर्फबाट हिजो २ वरिष्ठ सहित १० जनाले वकालतनामा दर्ता गराएका थिए भने आज थप एक जना वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेलले वकालतनामा दर्ता गराएका छन् । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील कुमार पन्त, धर्मराज आचार्य, अधिवक्ताहरु डा नारायण दत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोले, गोपीलाल देवकोटा, केदारराज पन्त र दिपकराज तिमल्सेना रहेका छन् ।
हिजो पहिलो दिन जिल्ला सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधीवक्ताहरु अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका थिए । जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेपछि हिजो थुनछेक स्थगित गर्दै लामिछानेलाई प्रहरीको जिम्मा लगाईएको थियो ।
सरकारी वकिल कार्यालयले मंगलबार लामिछाने सहित १५ जना विरुद्ध चितवन जिल्ला अदालतमा पुरक मुद्दा दर्ता गरेको थियो । त्यसअघि गत असोज ८ गते साहारा चितवन बहुउद्देश्यीय सहकारी सस्थाका पीडित बचतकर्ताको उजुरीको आधारमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवि राइसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको थियो । त्यसबेलाका १७ जना र अहिले थप १५ सहित ३२ जनाविरुद्ध मुद्दा चलेको हो ।
चितवन प्रहरीले ३२ जनालाई नै सहकारी ठगी तथा संगठित अपराधको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलले रवि लामिछानेसहित २० जनालाई ठगी मात्रै अभियोजन दर्ता गरेर संगठित अपराध कसुरबाट उन्मुक्ती दिएपछि सरकारले छानबिन समिति नै बनाएर अघि बढेको छ । सोही अनुरुप छिमेकी जिल्लाबाट समेत सरकारी वकिलहरु बहसका लागि चितवन आइपुगेका छन् ।

प्रतिकृया दिनुहोस्