धनराज गिरी
“कुनै भर हुन्न मान्छेको समाजको, समाज विभाजित छ । जे गरे पनि हुन्छ, केही गरे पनि हुन्न । बाहिरका मान्छेहरूको स्वर हल्ला हो, हल्लामा पनि सत्यता हुनसक्छ । अरूको कुरा पनि सुन्नुपर्दछ । तर बढी हल्लाले आफ्नो आत्माको स्वरको चल्लालाई हल्लाउन हुन्न । आत्माको स्वर भनेको विवेक हो । विवेक, इमान र मानवता मर्न दिन हुन्न साथी । मेरो “यारा” म तपाईंलाई हृदयत ः मान्दछु । धेरै गुन लगाउनुभएको छ । मैले तपाईँको नाम संगीतको “प्रसाद” त्यसै राखेको होइन । ईश्वरको प्रसाद त भन्दिन म, किन कि म निराकार प्रभुको अस्तित्वलाई स्वीकार्दिन । आज जावेद अख्तर साहेबले साहिरका बारेमा भनेको अभिव्यक्तिले मन छोयो । मेरो धारणा अनुरूप पाएँ शबनाआजमीकान्तको सोच, मानियो यारा, मानियो ।” प्रोफेसर सच्चिदानन्द आशुतोषसित अचानकक भेट भयो एक “विश्वकोश” को, जसलाई “प्रसाद” नाम दिएको छ प्रोफेसरले, उनको सक्कली नाम हो “गुलजारनारायण मानन्धर” उनी नेपाली र हिन्दी गीत, संगीत, चलचित्रका बारेमा अचम्मको ईष्र्या लाग्दो जानककारी राख्दछन् ।
किताबप्रेमी, अध्ययनशील, ज्ञानप्रकाशपुञ्ज, अञ्जलिकान्त विवेकी, मनमा मानवता र इमान प्रचुर । “यारा, मेरो मित्र तपाईंको निर्मल, विमल, कंचन व्यवहारले मलाई तान्यो । जहाँ पनि तपाईंको चर्चा हुन्छ । अस्ति महानायक राजेश हमालसित पनि कुरा भयो । मनमा राम्रै छाप परेछ । “गजलकार दाइ” भनेर निकै उज्यालो अनुहार बनाएर कुरा गर्नुभयो । अनि हाम्रो भीष्म पितामह राजा साहेब त मसित भेट भएपछि उही “मीर, कबीर, जमीर, समीर, अमीर, नयननीर” याराकै कुरा गरेर नथाक्ने । अनि याराको खलनायकका बारेमा खबर के छ ?” “यारा, मभित्रको मानवता भन्छ, यो धरतीमा मान्छे भएर आएपछि रमाउने, साथीभाइसित छोईदिल्लगी गर्ने अधिकार जसको पनि हुन्छ । मान्छे आफैंमा खराब कोही पनि हुन्न ।
म अचेल एउटा नयाँ सोचमा पुगेको छु । सरल र दम्भी पात्रहरूको बीचमा विवाद भएमा सरल पात्र सम्पूर्ण दोष आफैंमा देख्छ, दम्भीले आफ्नो गल्ती पनि अर्काको थाप्लोमा हाल्ने मूर्खता गर्दछ । एउटा उदाहरण, ३० बर्ष अघि, आजको कथा होइन यो, घटना १००% यथार्थ हो, एकजना अति सरल र सौभ्य पात्रले रु. ८६,००० हरामखोर पात्रलाई दिएछन् । पचाइदियो । सरल पात्रले फिर्ता लिन सकेनन् । कसैलाई पनि भनेनन् । त्यो बेलाको त्यो रकम अति ठूलो हो, ती सौम्य पात्रका लागि, उनको भनाइ, “गल्ती मेरै हो, मैले किन दिएँ त, छोड्नुस्, अब खायो त खायो । यारा, मेरै कथा, मैले पनि विना गल्ती पटकपटक केही दम्भीहरूसित क्षमा मागें । किन कि संबन्ध ध्वस्त बनाउनुभन्दा क्षमा मागेर सानो बन्नु नै बुद्धिमानी हो, मनको ठहर, “क्षमा माग्नसक्नु र क्षमा दिनसक्नु ठूलै बहादुरी हो” भनेर पढियो ।
व्यवहारमा अमल पनि गरियो । तर यो पनि सापेक्षवादमा आधारित रहेछ । सरल र सज्जन भए पो क्षमा माग्नु र क्षमा दिनुको अर्थ हुन्छ, दुष्ट, दुर्जन र अपराधीसित त रक्षात्मक हुने होइन, आक्रमक हुनुपर्ने रहेछ । यात्रा, जिन्दगीको अचम्मको हो । यारा, जीवनमा मान्यता नै नबनाउने मान्यता बनाउने । सामान्यीकरण केहीको पनि नगर्ने, एउटा सन्न्यासीलाई हेरेर बनाएको मान्यता सबैठाउँमा लागू हुन्न । एउटा गजलकारको निवासमा खीर पाक्ला, चीरहरणले खीरहरण गर्लान्, सबै गजलकारको घरमा त खीर पाक्दैन । जीवनको हरेक गजलकारको घरमा त खीर पाक्दैन । जीवनको हरेक हिसाब एउटै सूत्रले मिल्दैन । मलाई अति अनुकूल हुने पात्र अरूका लागि अलि प्रतिकूल हुनसक्छ । म आफैं पनि चेपुवामा परेकोछु, घरभित्र र घरबाहिर पनि ।
हरेक घरमा समस्या छ । दुःख छ । जीवन अभाव र झुपडीमा आनन्दमा थियो वा अहिले महलमा र प्रचुरतामा ? यो एउटा जटिल प्रश्न हो । झुपडीभित्र “बैकुण्ठ, कैलाश, इन्द्रलोक” र महलभित्र “नर्क” पनि अनुभूत भएको छ । जीवन उल्टो छ । जे देखिन्छ, भित्र ठीक विपरीत । सुनको पिंजडा हो महल, पहल गरेमा त्यहाँ खोक्रो जिन्दगी पाइनेछ । अभावमा मज्जासित निदाउनेहरू प्रचुरतामा निद्रा लाग्ने चक्की सेवन गर्न विवश छन् । अनुभूत तथ्य । यारा, म अचेल एउटा निचोडमा पुगेको छु, पुरस्कार र दण्ड म आफैं हुँ । समस्या र समाधान म आफैं हुँ । मेरा केही समस्याहरूको समाधान मलाई मात्र थाहा छ । महादेव आाएर पनि हल दिन सक्दैनन् । यसैले म पूर्ण वैज्ञानिक नास्तिक भएको छु । मलाई अवैज्ञानिक आस्तिकभन्दा वैज्ञानिक नास्तिक मनपर्छ । तर, यी बाहिर देखिने आस्तिकहरू सबै नास्तिक हुुन्, र बरु, नास्तिकहरू आस्तिक हुनसक्छन् । दुनियाँ हो, जे पनि हुनसक्छ ।” “कफी मगाउने ?” अन्जलिकान्तको प्रस्ताव । “हुन्छ ।”
आज एउटा गजल सुन्ने प्रोफेसर साहेबको मुखबाट, अस्ति राणा बाको घरमा “मिस” गरियो । “वस्ती गुरूले” संझिनुभएको थियो । अम्लान फूल पनि हुनुहुन्थ्यो ।” “ती पितामह पनि अति पवित्र, “वाह गजल” त मेरा “मेन्टर” मलाई पनि थक्कथक्क लागेकै हो । अब गजल है त ः शेर अर्ज है ! “ईर्साद” गजलः
“रमाइयो झुपडीमा महलमा आइयो
थाहा छैन, बढी कहाँ किन मुस्कुराइयो ?”
खान मिल्दा अन्नाभाव ऐले टन्न अन्न!
विडम्वना, अडकलेर सुख्खा रोटी खाइयो
शान्ति, शान्तिभन्दा भन्दै रोएको छ महल
द्रव्य शाह अति दुःखी, बल्ल थाहा पाइयो
छैन विवेक महलमा, इमान सज्जनता
जति माथि माथि भन्यो उति तल धाइयो
मानसिक सम्पन्नता मायाप्रेम हीरा
खेती भए सद्भावको अरू के नै चाहियो ?”
“वाह, वाह, वाह, मेरो यारा त यारा नै हो, केन्द्रमा हुनुपर्ने । “म जहाँ हुन्छु, त्यही नै केन्द्र हो” प्रोफेसर, फिल्मी प्रभाव । “अर्थात लाइन वही से सुरु होती है जहाँ हम खडे होते है” प्रसाद । “सही पकडे ।” प्रोफेसर । “यारा, यो नेकशुलेका बारेमा के धारणा छ ?” म भाषाका बारेमा केही जान्दिन । ज्ञान नभएको कुरामा के बोल्ने ? सबै मिलेर एउटा मानक भाषा बनाए हुन्थ्यो । बरु एउटा कथा, उपकथा भन्छु, मेरो आत्मीय मित्र” मायाकान्त गिरोपाध्यायले सुनाएको, घटना वास्तविक, नायायणगढबाट छुटेको बसमा एउटा लुरे युवक थियो । मुगलिङमा बस रोकियो । ५ जना मुद्रे र जगल्टेहरू चढे । “ए लुरे, पछाडि जा, हामी यहाँ बस्छौं” एउटा मुद्रे, लुरे मानेन । पटक्कै मानेन । पिटे । जबर्जस्ती सीटबाट उठाए । अरु यात्रीहरु मैन । “ह्या, यो लुरे पनि अकडो, छोडेको भए हुन्थ्यो नि ।” धेरैको मनमा । दोषी लुरेलाई नै बनाए ।
समाज हो यहाँ पनि, ती बलिया भुसतिघ्रेहरूसित किन पंगा लिने ? लुरेले न्याय पाएन । गोदाइ खायो, निर्दोष भएर पनि, केटाहरूको फुर्ति बेग्लै । बस पुग्यो मलेखु । खाजाका लागि रोक्यो । फिल्मी दृश्य, लुरे त अर्कै अवतारमा प्रकट भयो, जुडो, कराँटे, प्रशिक्षक, “कालो पेटी” “दे दनादन” पाँचैजनालाई धुलो बनायो । माफी मागे । अनि अरू यात्रीहरूजस्तै हो समाज । “गंगा आए गंगादास, जमुना आए जमुनादास” तर मैले यो घटनालाई “नेकशुले” सित जोड्न खोजेको होइन । नेकशुलेमा म पनि छु । सर्वोच्चकै पक्षमा, “शहीद” कै पक्षमा “शहर” कै पक्षमा । तर यो विभाजित नेपाली समाजका बारेमा केही पनि भन्न सकिन्न । यतिखेर “साहित्य पोस्ट” को टिमले राम्रो काम गरेको छ ।
भाषामा एकरुपता हुनैपर्छ । यारा, म पनि छुचो मान्छे, हिज्जेका बारेमा बोलेर गाली खाएको छु । यारा, कति म मात्र बोल्ने, याराको धारणा के छ गजलका बारेमा ?” “हा, हा, हा, यो गाली खाने विषय हो । गालिब भन्दाभन्दै “गाली” खाइन्छ । नेपालमा “गजल” होइन “घजल” भएको छ, “घ, घ, घ…….जता पनि घ, होइन त ? बाबु त्रिपाठी हरायो, कि डरायो ? घनश्यामजीकै आफ्नै कहानी छ, अनाम मण्डलीबाट “राधाकान्त” प्रशान्त छोएर पनि, अशान्त छ ।” धनेन्द्र सोझा थिएँ । चाणक्य नीति जान्नेहरुको केही भर हुन्न । गजल रमाउने पाकिस्तानमा हो । गजल लेखिने बहरमा नै हो । आजादले पनि प्रचण्डस्थान पायो । पानीले आफ्नो सतह आफैं मिलाउँछ । साहित्यिक महादेव र छन्दमा लेख्न सक्दिन । समयलाई समात्नुपर्छ, राना दाजीले जस्तै ।
गजलका बारेमा बोल्ने त ज्यामिरे काहिंलाले हो । म होइन । जमुनाकान्त र अन्जनाकान्त भएपछि गजल शान्त हुन्छ । एउटा जिल्लामा एक जना गजलकार भए हुन्छ । धेरै बिरालो भएपछि मुसाको आयु लामो हुन्छ । योभन्दा बढी बोल्दिन ।” प्रसाद । “लौ यारा, म पनि गजलका बारेमा बोल्दिन । आजको वार्ता मीठो भयो । यो “प्रसाद” सामाजिक संजालमा जानेछ । काम नभएको बेलामा गर्ने काम यही हो । जय गजल, जय साहित्य, नमन यारा, सायोनारा !” प्रोफेसर । ” प्रसादको ” अनुहार उज्यालो भयो। ” यस्तो मान्छे पनि हुन्छ?” प्रसाद,आफ्नै मनसित।

प्रतिकृया दिनुहोस्