सावित्रा ढकाल
बिबाह गर्ने नगर्ने, बच्चा जन्माउने नजन्माउने, सम्बन्ध बिच्छेद गर्ने नगर्ने व्यक्तिका वैयक्तिक र निजी बिषय हुन् ! यी निजी बिषयको सम्मान र संरक्षण गर्ने दायीत्व राज्य, समाज र हरेक नागरीकको हो। पारीवारीक ल, पारीवारीक अदालतको अबधारणा यीनै वैयक्तिक बिषयको सहि व्यवस्थापनको लागि हो। स्वतन्त्र जीवन बाँच्न पाउनु हरेक व्यक्तिको आधारभूत अधिकार हो, सम्बन्ध बिच्छेद कानुनले सुनिश्चित गरेको कानुनी अधिकार पनि हो ! अहिलेको समयमा कसैले किन सम्बन्ध बिच्छेद गर्यो/गर्छ छलफलको बिषय हुनु उचित होईन !
हाम्रो समाजमा लैंगिक र सामाजिक नियम यति जब्बर छन् कि बिबाह, बच्चा निजी छनौटको बिषय बन्न अझै धेरै समय कुर्नु पर्ने देखिन्छ। समाजले तोकिदिएको उमेरमा बिबाह भएन भने कति पारिवारीक र सामाजिक दवाब झेल्नु पर्छ सर्बबिदितै छ। बिबाह पछिका केहि बर्ष बच्चा नजन्मदा एउटी महिलाले दवाब झेल्न नसकेको कारण हस्पिटलबाट बच्चा चोरी गरेको घटना सेलाएकै छैन। छोरा नजन्मिएसम्म छोरी जन्माईरहने, अझ पछिल्लो समयमा त लिङ्ग पहिचान गरेर छोरीको भ्रुण हत्या गर्ने अवस्था कति कहालीलाग्दो छ भनिरहनु पर्दैन । पहिलो श्रीमानसँग बस्न नसकेका/नचाहेका आमाहरुले छोरी साथमै लिएर दोश्रो बिबाह गर्दा त्यहि श्रीमानबाट छोरीहरु बलात्कृत भएका घटना पनि कम छैनन् !
यी सबै तथ्यहरु नजरअन्दाज गरेर हामी सजिलै भनिदिन्छौं, छोड्नु थियो त बच्चा किन जन्माएको? अहिलेको समयको सबाल बच्चा किन जन्माएको भन्ने होईन; आमाबाबु, समाज, परीवार, राज्य हरेकले बालबालिकाको सुरक्षाको सुनिश्चित कसरी गर्ने भन्ने हो ! हामी महिलाहरुलाई (एक पटक हाम्रा छोरीहरु सम्झीउँ न !) घरभित्रै बस, जागिर ब्यबसाय नगर, जस्तो सुकै अवस्था सहेर पनि बिबाहलाई बचाऊ भन्ने युगबाट अगाडी बढीसक्यौं ! हाम्रा बहसहरु पच्छागामी हुनुहुँदैन ! परीवर्तनलाई स्वीकार गर्ने र नयाँ परीबेसमा सम्बन्ध, जिम्मेवारी, भूमिकालाई कसरी नयाँ र न्यायीक बनाउने तर्फ उन्मुख हुनु पर्छ !
नयाँ पुस्ताका सबै जेन्डरको भूमिकामा आएको परीवर्तनले जीवन जिउनका लागि नयाँ सीपको जरुरत बढ्दै छ, पेशा र जीवनको सन्तुलन आधारभूत लाइफ स्कील जस्तै भैसक्यो ! तर हाम्रो जीवन जिउने कला भने परम्परागत नै छ। सम्बन्ध बिच्छेदलाई हाम्रो समाजमा अझै लडाईंकै रुपमा लिईन्छ, सम्बन्ध बिच्छेद भएपछी एकअर्कालाई कट्टर दुश्मन मान्ने प्रचलन जस्तै छ ! हामीले बहस गर्नु पर्ने बिषय सम्बन्ध बिच्छेद पछिको सम्बन्ध कसरी मानवीय बनाउने भन्ने हो ! बालबच्चा भएकाहरुको लागि यो अझ संबेदनशिल बिषय हो; आमाबाबु सँगै हुँदा पनि र सम्बन्ध बिच्छेद पछि पनि बालबच्चा आमाबाबु दुवैको समान जिम्मेवारी हो, यो जिम्मेवारीबाट आमाबाबु कुनै पनि शर्तमा पन्छिन मिल्दैन।
रह्यो कुरा चितवन घटनाको; अनुसन्धानमा रहेको घटनामा आमाबाबुको सम्बन्ध बिच्छेदलाई प्रमुख बिषय बनाएर बहस गर्नु अपराधको विषयान्तर बाहेक केहि होईन ! अपराध जोसुकै(आमा बाबुबाट नै किन नहोस्)बाट भएको होस्, अपराधी उम्कन हुँदैन ! याद रहोस् सम्बन्ध बिच्छेद अपराध होईन !

प्रतिकृया दिनुहोस्