भरतपुर, असार २३ ।
आदर्श नारी विकास केन्द्रको नयाँ नेतृत्वमा उषा खरेल सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ । संस्थाको हिजो सम्पन्न ३० औं साधरणसभा तथा १४ औं अधिबेशनबाट सुवेदीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिती निर्विरोध निर्वाचित भएको हो । नवगठित समितीको उपाध्यक्षमा शीशा राई मानन्धर, सचिवमा सरिता सुवेदी पाठक, सहसचिव सजना तिमल्सेना र कोषाध्यक्ष लक्ष्मी गुरुगं रहनुभएको छ । यसैगरि सदस्यहरुमा लक्ष्मी रिमाल, कौशिला खरेल, दुर्गा गौतम, अन्जिता देवकोटा र अनिता बास्तोला चयन हुनुभएको छ ।
संस्थाका अध्यक्ष मीना कुमारी खरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माननीय अन्जनी श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा संस्थाको बार्षिक प्रगती प्रतिवेदन सचिव पृथ्वी सुवेदीले र आयव्यय विवरण कोषाध्यक्ष भगवती सापकोटाको तर्फबाट संस्थाका लेखा सहायक अनिता तिवारीले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुमोदन गरिएको छ । सो अवसरमा संस्थाको सदस्य देखि सल्लाहकार भई राष्ट्रको निति निर्माण तहसम्म पुग्नुभएकी प्रतिनिधि सभा सदस्य माननीय अन्जनी श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय अञ्जनी श्रेष्ठले महिलाहरुले चाहने हो भने जस्तोसुकै चुनौतीको पनि सामना गर्न सक्ने साहस भएको बताउनुभयो । चुनौतीका बावजुद पनि संघर्ष जारी राख्नुपर्ने भन्दै उहाँले संस्थाको भौतिक संरचना निमार्णका लागि सहयोगी बन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तै संस्थाका कानुनी सल्लाहकार अधिबक्ता फुलमाया रानाभाटले विगत ३० बर्षको इतिहासमा सम्झदै आगामी दिनमा आदर्श बृद्धाश्रमको पनि जरुरत रहेको बताउनुभयो । महिला हिंसाको अन्त्यका लागि न्याय वकालत र पैरवी गर्दा धेरै योगदान र संघर्ष गर्नुपरेको बताउनुहुदैं संस्थाले मीना खरेललाई अनवरत खम्बाको रुपमा पाउनु गर्वको कुरा रहेको उल्लेख गर्नुभयो । सामाजिक अभियन्ता लायन्स दुर्गालक्ष्मी श्रेष्ठले महिला ससक्तिकरणका लागि जन्मिएको पुरानो संस्था आदर्श नारी सहितका ५ संस्थाले महिला हिंसा विरुद्धको अभियान र सामाजिक अपराध न्युनिकरणका लागि महत्वपुर्ण काम गरेको भन्दै विगतको संघर्ष र योगदानको चर्चा गर्नुभयो ।
संस्थाका सल्लाहकार अधिवक्ता इन्दु कोइरालाले स्थापना कालदेखि नै अनवरत रुपमा सामाजिक सेवामा लागिरहने अध्यक्ष मीना खरेल र बाहिर बसेर साथ दिने संस्थापक अध्यक्ष सीता सापकोटा र निवर्तमान अध्यक्ष सरिता केसीको योगदानको उच्च प्रंससा गर्नुभयो । आदर्श वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भानुभक्त कडेलले आदर्शले प्रवद्र्धन गरेका संघसंस्थाहरु एक भई बार्षिक रुपमा एकिकृत कार्यक्रम लैजानुपर्नेमा जोड दिनुभयो । यो नाफामुलक नभई सेवामुलक संस्था भएकाले संस्था चलाउन चुनौती थपिएको भन्दै उहाँले संस्थाको गतिमा ब्रेक लाग्ने गरेको तितो यथार्थ प्रस्तुत गर्नुभयो ।

प्रतिकृया दिनुहोस्