सिन्धु ढकाल/चितवन:
चितवनको राजनीतिले सधैँ राष्ट्रिय ध्यान खिच्ने गर्छ, यसपटकको निर्वाचन सँगै मतगणनालाई पनि उत्तिकै चर्चा र चासोका साथ हेरिएको छ। विगतका अनुभवबाट पाठ सिक्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले यसपटक मतपत्रको सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने संकेत दिएको छ।
चितवन २ को मतगणना स्थल,उद्योग संघ चितवनको प्रदर्शनी स्थलमा मतगणनाका लागि यसपटक १० फिट अग्लो तारजाली
‘फलामे घेरा’लगाईएको छ ।
मतगणना स्थललाई भौतिक रूपमा मात्र होइन, प्राविधिक रूपमा पनि सुरक्षित बनाइएको छ। मतगणनाको हरेक पल रेकर्ड गर्न र पारदर्शी बनाउन सीसीटीभी क्यामेरा जडान गरिएको छ भने उज्यालोका लागि लाइटको व्यवस्था गरिएको छ। मतगणनाको प्रक्रियालाई मर्यादित बनाउन पहुँचमा समेत कडाइ गरिएको छ । तारजाली भित्र मतगणनामा खटिएका कर्मचारी, पर्यवेक्षक र सुरक्षाकर्मी मात्र रहनेछन् ।
उम्मेदवारका प्रतिनिधि, राजनीतिक दलका नेता तथा अन्य सरोकारवालाहरूले भने तारजाली बाहिरबाटै गणनाको निगरानी गर्नुपर्नेछ। उम्मेदवारका प्रतिनिधिहरूका लागि बाहिर सहज रुपमा बस्ने व्यवस्था गरिएको न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत केदार पौडेलले जानकारी दिनुभयो ।
चितवनमा मतगणना स्थलमा तारजाली लगाउनुको पछाडि २०७४ सालको स्थानीय तहको निर्वाचनको एउटा अप्रिय घटना जोडिएको छ। भरतपुर महानगरपालिकाको मतगणना भइरहँदा उम्मेदवारका प्रतिनिधिले मतपत्र च्यातेको र केहीले त मुखमै हालेर निलेको घटनाले राष्ट्रिय राजनीति नै तरंगित भएको थियो। मुख्य निर्वाचन अधिकृत न्यायाधीश केदार पौडेलका अनुसार,सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै १० फिट अग्लो तारजाली लगाइएको हो।
चितवनका निर्वाचन क्षेत्र १ का लागि भुवानीशंकर कलेज खैरहनी , क्षेत्र नम्बर २ का लागि उद्योग संघ चितवनको प्रदर्शनी स्थल र
क्षेत्र नम्बर ३ का लागि कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई मतगणना स्थल तोकीएको छ ।

प्रतिकृया दिनुहोस्