मंसिर २२, चितवन
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बागमती प्रदेशको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो प्रदेश अधिवेशनले चितवनलाई ‘सर्वोत्तम जिल्ला’ घोषणा गरेको छ। बागमती प्रदेशअन्तर्गतका सबै जिल्लामध्ये उत्कृष्ट कार्यसम्पादन, संगठनात्मक सक्रियता र योगदानका आधारमा चितवन जिल्ला कार्यसमितिलाई यस वर्षको उत्कृष्टतासूचक सम्मान गरिएको हो।
अधिवेशनमा चितवनबाट प्रतिनिधित्व गर्दै संस्थाका अध्यक्ष बसन्त लामा, प्रथम उपाध्यक्ष आयुस्मा केसी, द्वितीय उपाध्यक्ष विक्रम क्षेत्री, सचिव रोबिन सुवेदी, कोषाध्यक्ष भूमिराज घिमिरे तथा कार्यसमिति पदाधिकारी–सदस्यहरू सहित निवर्तमान तथा पूर्व अध्यक्षहरूको उपस्थिति रहेको थियो।
सचिव रोबिन सुवेदीका अनुसार चितवन शाखाले निरन्तर सांस्कृतिक संरक्षण, प्रतिभा विकास र संस्थागत सक्रियतामार्फत प्रदेशभर सकारात्मक पहिचान बनाउँदै आएको हुँदा बागमती प्रदेशले उच्च मूल्यांकन गर्दै ‘सर्वोकृष्ट जिल्ला’ उपाधि प्रदान गरेको हो।
उक्त सम्मान प्रति चितवन कार्यसमितिले कृतज्ञता व्यक्त गरेको बताउँदै जिल्ला कार्यसमिति सदस्य ज्योति नारायण ढकालले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम र संगठन विस्तारमार्फत जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिकृया दिनुहोस्