सिन्धु ढकाल । चितवन
के तपाईलाई थाहा छ, तपाईको घरवाट निस्किएको फोहोरलाई नगरपालिकाको गाडीले उठाएपछि कहाँ लैजान्छ? तपाईहरुले पोको पारेर राखेको फोहोरलाई नगरपालिकाले सिधै बिर्सजन गर्छ भन्ने सोच्नु भएको छ भने तपाई गलत हुनुहुन्छ । तपाईले नाक खुम्चाउदै फोहोरको गाडीमा राखेको त्यो फोहोरलाई खोलेर पुन बर्गीकरण गरेपछि मात्र फोहोर व्यवस्थापन केन्द्र अर्थात डम्पिगं साईटमा बिर्सजन गरिन्छ ।
जोखिम र उपेक्षाले भरिएको यति अप्ठ्यारो मजदुरी गर्ने व्यक्तिले पक्कै पनि अन्य काम गर्ने श्रमीकहरुले भन्दा धेरै तलब र सुबिधा पाईरहेका होलान् भन्ने अनुमान तपाईको छ भने तपाई गलत हुनुहुन्छ ।
माडी नगरपालिकामा ३ बर्ष देखि सरसफाई मजदुरको रुपमा श्रम गर्दै आएकी अस्मिता स्याङ्तानको अनुभब पनि नमिठो छ । नगरपालिकाले उठाएको फोहोरको अन्तिम बर्गीकरण गर्ने काम गर्ने अस्मिता जस्ता मजदुरहरु लामो समयदेखि अनौपचारिक श्रम गर्दै आएका छन् । नगरपालिकाको फोहोर बर्गीकरणको काम गर्ने भएता पनि अस्मिता नगरपालिकाको कर्मचारी होईनन् । उनी दैनिक ज्यालादारीमा काम गर्छिन् । उनको काम गर्ने समय बिहान ९ बजेदेखि साँझ ५.३० बजे सम्मका लागि तोकीएको छ । तर तोकीएको समय भन्दा बढि काम गर्नुपर्ने बाध्यता छ । काममा खटाई अत्याधिक भएपनि पारिश्रमिक भने एकदमै न्युन छ । सरकारी राजपत्रमा दैनिक ७ सय ५४ रुपैया न्युनतम ज्याला दिनुपर्ने उल्लेख गरेको भएता पनि अस्मिताले दैनिक ४ सय रुपैयामा काम गर्दै आएकी छन् । उनलाई औपचारिक कर्मचारीलाई जस्तो बिदा, बिमा वा सामाजिक सुरक्षाको सुबिधा रोजगारदाताले व्यवस्था गरेको छैन । “एक दिन काममा नगए तलब काटिन्छ, इच्छा नलागेपनि काम गर्नुपर्ने बाध्यता छ, काम नगरे छोराछोरीलाई पाल्न र शिक्षा दिन सकिदैन” अस्मिताले दुखि हुदै आफ्नो व्यथा सुनाईन् ।
माडी नगरपालिकामा काम गर्ने अस्मिता र उनीजस्तै सरसफाई श्रमिकहरु सीमान्तकृत महिलाहरु छन् । नगरपालिकाको घर घरबाट उठाएर ल्याएको फोहोरवाट सडेगलेका सागसब्जी, प्लाष्टिक, सिसा, फोहोर कपडा, प्याड, डाईपर जस्ता फोहोरहरुलाई उनीहरुले जैविक र अजैविक फोहोरमा बर्गीकरण गर्दछन् । तर यती जोखिमपुर्ण कामका लागि ठेकेदारले उनीहरुलाई सुरक्षा सामाग्री मास्क, पन्जा र बुटको समेत व्यवस्थापनमा कन्जुसाई गर्ने गरेको छ । जीवन जोखिममा राखेर उनीहरुले असुरक्षित काम गरिरहेका छन् । तर उनीहरुलाई आफुले पाएको अधिकार स्वास्थ्य बिमा, सामाजिक सुरक्षा, पेन्सन लगायतका सुबिधाका बिषयमा जानकारी समेत छैन । गरिबिका कारण सामाजिक उपेक्षा र मानसिक तनावका बिच उनीहरुले निरन्तर सेवा दिईरहेको भएता पनि नगरपालिकाले उनीहरुको कामको सम्मानका लागि पहल गरेको देखिदैन ।
अनौपचारिक श्रम गर्ने महिलाहरुको समस्याका बिषयमा स्थानिय सरकारसँग पटक पटक छलफल हुने गरेको भएता पनि समाधानका लागि ठोस पहल नभएको माडीमा नै अनौपचारिक क्षेत्रमा श्रम गरिरहेकी चिरन बुढामगर बताउछिन् । माडी नगरपालिका ३ बस्ने चिरनले होटलमा मम बनाउने कुकको रुपमा काम गर्दै आएकी छन् । दैनिक ५ सय ज्यालामा उनले यो काम गर्र्दै आएकी हुन् । होटल क्षेत्रमा पनि अनौपचारिक काम गर्ने महिलाहरुले भोगीरहेको समस्या धेरै छन् । बिशेष गरी श्रमको उचित ज्याला नपाउनु र सम्मानजनक व्यवहार नहुनुले उनीहरुलाई काम गर्न निरुत्साहित गर्दछ । चिरन बुढामगरका अनुसार, आफुलाई भएको समस्याका बिषयमा उजुरी गर्ने इच्छा हुँदाहुदै पनि भएको रोजगारी समेत गुम्ने डरले उनीहरुले उजुरी गर्दैननन् । उजुरी गरिहाले पनि प्रहरी प्रशासनले कारवाही भन्दा पनि मिलापत्र गर्ने गरेको गुनासो अनौपचारिक क्षेत्रका महिलाहरुको छ ।
यता जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख गोबिन्द पुरी भने जिल्ला प्रहरी कार्यालय सम्म आईपुगेका घटनाहरुमा प्रहरीले सक्दो समन्वय गर्ने गरेको बताउछन् । रोजगारदाता ठेकेदारसँग पारिश्रमिक उठाउन नसकेर समस्यामा परेका महिलाहरुलाई प्रहरीले समझदारी अनुरुपको पारिश्रमिक दिलाउने काम प्रहरीले गरिरहेको उनले बताए । यद्यपी भएका सबै समस्याहरु प्रहरी सम्म आईपुग्ने अवस्था नभएको उनले बताए । समस्या पर्दा निर्धक्क भएर प्रहरीमा आउन प्रहरी प्रमुख पुरीले आग्रह गरे ।
अनौपचारिक श्रमिकलाई रोजगार दिने रोजगार प्रदायक संस्थाहरुलाई नियमन गर्न स्थानिय तह जिम्मेवार हुनु आवश्यक भएको भन्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले माडीमा देखिएको अनौपचारिक महिलाहरुको समस्या समाधानका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । अन्तराष्ट्रिय सन्धि सम्झौता र बिद्यमान कानुनी व्यवस्था अनुरुप श्रमिकहरुले पाउने ज्याला, सामाजिक सुरक्षा र पेशागत सुरक्षा उपलब्ध गराउने बिषयमा सम्झौता गर्न नहुने उनको भनाई छ ।
माडि नगरपालिकामा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको संख्या ठुलो भएपनि नगरपालिकामा सुचिकृत हुन, साथै बेरोजगार फारम भर्न समेत नआउने गरेको रोजगार संयोजक यमुना ढकालले बताईन् । जसले तथ्यांक एकीन गरी उनिहरुलाई आवश्यक परामर्श तथा अवसर उपलब्ध गराउन समस्या भएको ढकालले बताईन् ।
बिशेषगरी अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुलाई श्रम अधिकार, न्युनतम ज्याला वा गुनासो सम्बोधन प्रणालीका बिषयमा जानकारी नै नभएका कारण श्रमिकहरु आफ्नो न्युनतम मानव अधिकारबाट समेत बन्चित हुने गरेको अनौपचारिक श्रम क्षेत्रका श्रमिकको सवालमा कार्यरत संस्था चितवन सक्रिय महिला प्रतिष्ठानकी परियोजना संयोजक सुजता बर्ताैलाले बताईन् । संस्थाले पछिल्लो पटक चितवन, मकवानपुर र बर्दियामा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको अवस्थाका बिषयमा गरेको सबेक्षणका अनुसार ९२ प्रतिशत भन्दा धेरै श्रमिकहरु आफुले पाएको न्युनतम श्रम अधिकार, ज्याला र गुनासो प्रणालीका बिषयमा अनबिज्ञ छन् । बिभिन्न क्षेत्रमा अनौपचारिक सेवा दिईरहेका ५८ प्रतिशत भन्दा धेरै महिलाहरुले पुरुषको तुलनामा कम पारिश्रमिक पाएको सबेक्षणले देखाएको छ । ८७ प्रतिशत भन्दा धेरै महिला श्रमिकहरुलाई आफ्नो कार्यस्थलमा महिनावारी स्वच्छताको सुबिधाको अभाव छ । ९४ प्रतिशत भन्दा बढि श्रमिकहरु स्वास्थ्य र दुर्घटना बीमा बिना नै काम गर्न बाध्य छन् । ९५ प्रतिशत भन्दा धेरै श्रमिकहरु कुनै पनि सामाजिक सुरक्षा कार्यक्रममा सहभागी छैनन् र यसबारे जानकारी समेत छैन । एक्सन एड नेपालको सहयोगमा चितवन सक्रिया महिला प्रतिष्ठानले सन् २०२४ मा यो सर्वेक्षण गरेको हो ।
अनौपचारिक श्रम क्षेत्रले अदृश्य रुपमा देशको अर्थतन्त्रमा दरिलो भुमिका निर्वाह गरेको छ । त्यसमा ठुलो संख्यामा महिलाहरु समेत सहभागी भैरहेका छन् । बिबिध जिम्मेवारीका कारण महिलाहरु आफ्नो अधिकार र उपलब्ध सेवा सुबिधाका बिषयमा अनबिज्ञ रहेको देखिन्छ । अनौपचारिक क्षेत्रका महिलाहरुलाई सम्मानजनक श्रम गर्दै आफ्नो न्युनतम अधिकार प्राप्त गर्नका लागि स्थानीय तह, गैर सरकारी संघसंस्था तथा राज्य संयन्त्रले साझा पहल गर्न आवश्यक देखिन्छ ।

प्रतिकृया दिनुहोस्