चितवन, २४ पुष ।
नेपाल पत्रकार महासंघ चितवन शाखाले क्यान्सर रोग लागेर उपचार गराइरहेका पत्रकारलाई आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघ चितवनका पदाधिकारीले क्यान्सरको उपचार गराइरहेका दुई जना पत्रकारको घरमै पुगेर संकलित रकम हस्तान्तरण गरेका हुन् ।
नेपाल पत्रकार महासंघ चिवन शाखाका अध्यक्ष वसन्त पराजुली, उपाध्यक्ष दीपेन्द्र अधिकारी, सचिव राजेश घिमिरे र कोषाध्यक्ष कृष्ण आचार्यको टोलीले माडी नगरपालिका निवासी नेपाल पत्रकार महासंघका पूर्वकार्यसमिति सदस्य भुपराज पाठकका अभिभावकलाई घरैमा पुगेर ७५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । पाठक रक्त क्यान्सरका कारण भारतमा उपचाररत छन् ।
महासंघले भरतपुर महानगर निवासी महासंघ पत्रकार संगीता बानियाँलाई पनि आर्थिक सहयोग रकम ७५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।
बानियाँले स्तन र टाउकोको क्यान्सर रोगको उपचार गराइरहेकी छिन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उनको उपचार भइरहेको छ ।
नेपाल पत्रकार महासंघ चितवन शाखामा नयाँ कार्यसमिति आए लगत्तै क्यान्सरको उपचार गराइरहेका पत्रकारहरुको उपचारका लागि सहयोग रकम संकलन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्