चितवन, ४ भदौ ।
पाठेघरमा पलाएको मासु निकाल्ने अपरेसन गर्न भरतपुर अस्पताल गएकी सम्झना काफ्लेको मृत्युको सत्यतथ्य सहितको कारण खोजी गर्न छानबिन समिति गठन गरिएको छ ।
चिकित्सकको लापरबाहीको कारण सामान्य अपरेसन गर्न अस्पताल गएकी काफ्लेको निधन भएको आफन्तले दाबी गरेपछि चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संयोजकत्वमा बैठक वसेर र छानबिन समिति गठन गरिएको हो । भरतपुर अस्पतालका सिनियर डाक्टर प्रकाश खतिवडाको संयोजकत्वमा नौ सदस्यीय सर्वपक्षीय छानबिन समिति गठन गरिएको छ ।
समितिका सदस्यहरुमा क्यान्सर अस्पतालका एनेस्थेसिया डाक्टर प्रदिप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अन्तिम सिंजाली रहेका छन् । त्यसैगरि मृतकका आफन्तका तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल र मन्दिरा काफ्ले रहेका छनु । भरतपुर अस्पतालका शाखा अधिकृत तुलसीराम आचार्यलाई सदस्य सचिव तोकिएको पनि प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।
छानबिन समितिले ७ दिनभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने, गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई पनि उक्त घटनाबारे छानबिन गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । समिति गठन भएपछि मृतकका आफन्तले पनि शव बुझेर लैजाने सहमति गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । पाठेघरको मासुको जाँचको लागि वायप्सी गर्न भरतपुर अस्पताल भर्ना भइ मंगलबार सामान्य अपरेसन गर्ने भनिएपनि एनेस्थेसिया लगाएपछि नै मुटुको समस्या भएर काफ्लेको स्वास्थ्य गम्भीर भएको थियो । गम्भीर अवस्थामा भरतपुर अस्पतालकै आइसियूमा उपचार गरिएकी काफ्लेको राती निधन भएको चिकित्सकले घोषणा गरेका आफन्तले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्