सिन्धु ढकाल
घरमा बिहानैदेखि चटारो छ । आज पुर्णीमाको पुजा, अर्थात कुल पुजा । मलाई ठ्याक्कै थाहा छैन, कुल पुजा कुन दिन गरिन्छ भनेर । सोधखोज पनि गरेको छैन । सायद वर्षको २ पटक गरिन्छ यति नै हो मलाई थाहा भएको । म हिजो मात्र काठमाण्डौवाट आईपुगेको । ममिको चराटोलाई कम गर्न सघाईरहेको छु मपनि । आखिर मेरो नामको पछाडी पनि यहि कुलको थर जोडिएको छ भनेर जिम्मेवारी वोध नै गरे जसरी । तर वास्तवमा त्यसो चाँही होईन मात्रै ममिलाई सहज होस् भन्नका लागी । सवै ढकाल थर भएका गोत्रिया भाईहरु जम्मा भएर एकै ठाँउमा कुल पुजा गर्ने चलन अनुरुप पुजाको सामान सहित पुजा स्थलमा जानुपर्ने भएकाले पनि चटारो अलि वढि भएको हो ।
पहिलो पटक कुल पुजामा जादै थिए म । पहिले पहिले हजुरवुवा, वुवाहरुले घरमा नै गर्नुहुन्थ्यो कि, कता कता खासै भेउ पाउदिन । पहिलो पटक कुल पुजामा जान पाएकोमा भन्दा पनि सवैजनासँग भेट हुन्छ भन्ने कुराले अलि वढि हौसाएको थियो । हुन त म गोत्र सारेर अर्कैलाई दिएको छोरीको महत्व नै के पो हुन्छ र त्यहाँ ? हिन्दु धर्मावलम्वीहरुले गर्ने अन्य होम, पुजाआजामा छोरी ज्वाई, भान्जा भान्जीलाई अलि बिशेष महत्व र सम्मान दिने गरिन्छ । गोत्रै सारेर गएको भएपनि त्यति वेला मनले नमिठो अनुभव गर्न नपाउँदो रहेछ, आज महसुस गरे ।
कुलपुजामा छोरीहरुलाई खासै महत्व नदिने अझै बिहे गरेकी छोरी त को आयो को गयो वास्तै नहुने । पुजामा चढाईएको प्रसाद छोरीलाई नदिने, अनि वुहारीलाई पनि । कस्तो मनै अमिलो, नमिठो भएर आँउछ सम्झदा पनि । के कुल भनेको छोरो मात्र हो ? छोरीलाई पुजामा सहभागी नगराएपनि बुहारीले सम्म पुजा गर्न पाउने चलन भएको भएपनि अलि चित्त वुझ्थ्यो होला । बिचरा आफुले आफैलाई सवैभन्दा पिडित महसुस गरेको पहिलो पटक थियो, त्यतिसारो । पिडक थिए आफ्नै वाउ वाजेहरु र उनका पनि वाउ वाजेहरु जसले छोरीलाई कुलमा समेट्न सकेनन् ।
एउटा कुपरम्परा जसलाई कुलका नाममा थेग्दै आएका छन्, हाम्रा वुवाहरुले अनि थाम्ने तयारीमा सिकारु वनिरहेका छन् हाम्रा दाई भाईहरु । वाजे र वुवाहरु उनिहरुलाई खोजी खोजी पुजाको बिधि र तरिका सिकाउदै छन् । कसका कुन छोरा आएनन्, कुन नाति आएनन् बिशेष ध्यान दिईएको छ । अर्को पटक देखि सवैलाई आउनलाई प्रेरित गरिएको छ । तर छोरी र नातिनीका कुरै छैनन् । आमा र भाउजु वुहारीहरु तमासे र कामदार जस्ता देखिन्छन् ।
यति भईसक्दा मन भुटभुटिएको थियो । तर केहि वोलिन, मनले भन्यो धर्म र संस्कृतिका ठेकेदार मेरा वाउ वाजेहरु । उनिहरुको खुसीमा म पनि हाँसीदिन्थ्ये आज एक दिन त हो रमाईलो मानिदिन्छु भन्दै देखे भेटेका चिनेका ढकालहरुलाई हात जोड्दै थिए, नचिनेकासँग परिचय गर्दै ।
चुरो कुरोे त अझै वाँकी नै रैछ ! हुन त यो भन्दा अघि पनि यो विषयमा सुन्दै नसुनेको, देख्दै नदेखेको होईन तर गहनताका साथ सोचेको थिईन । मैैले अलि सहज महसुस गरोस् भनेर होला काकाले फाईल र कलम निकालेर इसाराले वोलाउनु भयो । म पनि आज्ञाकारी बिद्यार्थी जस्तै भएर गए । काम रैछ वंशावली वनाउने । खाटा वसीसकेको घाउमा कोट्याएर नुन चुक दलेजस्तो । कति नमिठो अनुभव भयो मलाई । पुरुष प्रधानताले हद पार गरिसके जस्तो । महिलाहरु कति सहनशिल, भन्दा पनि कति निरीह ।
जिजुवाजे, वाजे, छोरा, नाती, पनाती वंशावलीमा पुरुषको वर्चश्व मात्र होईन एकाधिकार छ । नत वुढीफुपु, फुपु, छोरी, नातिनि अटाएका छन् नत वज्यै, आमा र वुहारी नै । फलानाको यति भाई छोरा, यति दाजुभाई भन्नुपर्दा वंशावलीमा छोरीको नाम अटाउनु पर्दैन, राख्नु पर्दैन ? नाता सम्वन्धको औपचारिक दस्तावेजको रुपमा चिनिने वंशावलीमा महिलाको नाम नराखेको देख्दा मुखै खोल्न मनलाग्यो । फाईल र कलम अर्कैको हातमा थमाईदिए । वंशावलीमा अटाउन नसक्ने मैले के वंशावली लेख्नु ? मन खल्लो भयो, जुन काकाले कुल पुजाका लागी मन्दिर निमार्ण गर्न जग्गा उपलब्ध गराउनु भएको थियो उहाँलाई पुलुक्क हेरे, उहाँले मेरो भाव वुझ्नुभएन । ३ वैनि छोरी छन् उहाँका, पढेलेखेको मान्छे । कुल पुजा र वंशावलीको पहल गर्दै गर्दा छोरीको नाम राख्नका लागी किन पहल गर्न नसकेको ?
माईतिको वंशावली भित्र अटाउन नसकेको म, नत घरको वंशावलीमा नै मेरो नाम छ । वंश धान्ने छोरो रहेछ, नकी वुहारी र छोरीहरु । हामीहरु त केवल उनिहरुको वंश धान्नका लागी वच्चा उत्पादन गरिदिने मेसिन । कुनै मानविय औचित्य नभएका ।
सानो छदा केहि काम लगाउन फकाउन पर्यो भने ममीले भन्नुहुन्थ्यो छोरो यसो गर न भनेर । एकदिन साह्रै रिस उठेर मैले पनि भनिदिए । माया गर्नका लागी छोरो नै भन्नुपर्छ, छोरी भन्नुस् अनि मात्र गर्छु । ममिलाई साह्रै चित्त बुझेछ पछि एउटा सार्वजनिक कार्यक्रममा ममिले मैले भनेको कुरा भन्नुभयो म मख्ख । हाम्रो घरमा छोरा र छोरीबिचको फरक व्यवहारको बिषयमा कुरा भैरहन्थ्यो । म माईली सन्तान । म मुनि भाई छ, माथि दिदि । मैले वेलावेला वुवा ममिलाई भन्ने गर्थे, म छोरा भैदिएको भए ३ वटा वच्चा पाउनु पर्दैन्थ्यो है ? भन्दै । हुन पनि हो, तर पनि घरमा छोरा छोरीबिचमा खासै बिभेद हुदैनथ्यो । म भने सानो भएकाले भाईलाई अलि धेरै माया गरेपनि झस्काईदिहाल्थ्ये बुवा ममिलाई । शिक्षादिक्षा केहि कुरामा फरक गर्नुभएन हामीलाई । छोरीहरुको मन कुडिएला भनेर अनि समयले समानतालाई आत्मसाथ गर्न सिकाएकाले नै वुवा ममिले हामी छोरा छोरीलाई अंशमा पनि समान अधिकार दिनुभएको छ । तर मेरो मन फेरि कुडियो वंशमा आफ्नो नाम नपाएर । बुवालाई कति गुनासो गरौ ? वुवा म किन वंशावलीमा अटाउन सकिन ?
छोरा भएन भने आफ्नो वंशको हाँगो तुहिन्छ भन्नेहरु समाजमा छन् । अंश र वंशमा छोरीको समान अधिकार खोज्नेहरु पनि सतहमा नारा भजाई रहेका छन् । समस्याको चुरो कुरो त वंशावली हो । तर नेपालमा वनाईका र वनाउदै गरिएका अधिकाशं वंशावलीमा छोरीको नाम समेटिएको छैन । समानताको कुरा गर्दै गर्दा वंशावलीमा छोरीको नाम राख्नका लागी पहल गर्ने वेला आएन र अव ?
वंशावलीमा नसमेटिएका महिलाहरुलाई हाम्रो राज्यले पनि पुरुष सरहको मान्यता कहाँ दिन सक्छ र ? आखिर त्यहा पनि यहि समाजका प्रतिनिधिहरु त छन्, वुझेर पनि वुझ पचाउनेहरु । त्यसैले त आमाको नामवाट नागरीकता दिने बिषयमा पनि वर्षौदेखि वहस भएको । बावु, वाजे नेपाली भएको भरमा एक जना वालिगले नेपालको नागरिकता पाउँछ भने आमा, हजुरआमा नेपाली भएको हिसावले पनि नागरिकता पाउनुपर्छ कुरा प्रष्ट हुनुपर्छ । तर पुरुषहरुको एकल वर्चश्व रहेको वंशावलीमा नै अटाउन नसकेका छोरीहरुले कसरी खोज्ने आफ्नो अस्तित्व, कसरी खोज्ने आफ्नो पहिचानको अधिकार ।

प्रतिकृया दिनुहोस्