नुवाकोट-भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विस्थापित भएका परिवारको पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेशनल ब्याप्टिस्ट कन्भेन्सन अफ नेपालले नुवाकोटको विदुर नगरपालिकाका विभिन्न वडामा रहेका होल्डिङ सेन्टरमा राहत सामग्री वितरण गरेको छ।
भदौ १० गते आएको भोटेकोशी बाढीबाट प्रभावित ३ सय परिवारलाई संस्थाले खाना पकाउने कुकर, कराई, थाल, कचौरा, गिलास, प्लास्टिकका बाल्टिन, जग, झुल, टावल, साबुन, महिनावारी प्याडलगायतका दैनिक प्रयोगमा आवश्यक सामग्री वितरण गरेको हो।
सरकारले बाढी प्रभावित परिवारलाई कोठा भाडामा लिएर बसोबास गर्न प्रतिपरिवार प्रतिमहिना १० हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने घोषणा गरेपछि विस्थापित परिवारहरू नयाँ स्थानमा बसोबासको तयारीमा छन्। उनीहरूलाई नयाँ कोठामा बस्दा आवश्यक पर्ने आधारभूत सामग्रीको अभाव नहोस् भन्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष युवराज विकले जानकारी दिनुभयो ।
राहत सामग्री बुझ्दै प्रभावित परिवारहरूले विपद्को समयमा आफूहरूलाई आवश्यक पर्ने सामग्री सहयोग गरेकोमा संस्थाप्रति आभार व्यक्त गरेका छन्। बाढीका कारण घर, लत्ताकपडा तथा दैनिक प्रयोगका सामग्री गुमाउनुपरेको अवस्थामा भान्साका सामग्री, झुल, सरसफाइ तथा महिनावारीसँग सम्बन्धित सामग्रीले तत्कालको आवश्यकता पूरा गर्न सहयोग पुगेको उनीहरूको भनाइ छ।
प्रभावित परिवारले राहत सामग्रीसँगै स्थायी तथा सुरक्षित पुनःस्थापना, बसोबासको व्यवस्था र जीविकोपार्जनका लागि थप सहयोगको अपेक्षा पनि गरेका छन्। तत्कालका लागि राहत आवश्यक भए पनि लामो समयसम्म अस्थायी शिविर वा होल्डिङ सेन्टरमा बस्नुपर्ने अवस्था नआओस् र सरकारले घोषणा गरेको घरभाडा तथा पुनःस्थापनाको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ।
बाढीपछि विभिन्न सरकारी निकाय तथा गैरसरकारी संस्थाले खाद्यान्न लगायतका सामग्री वितरण गर्दै आएका छन् । तर, विस्थापित परिवारलाई भान्सामा प्रयोग हुने अत्यावश्यक सामग्री तथा व्यक्तिगत सरसफाइका सामग्रीको आवश्यकता रहेको पाइएकाले सामाग्री वितरण गरिएको संस्थाका निर्देशक नारायण शर्माले बताउनुभयो । उहाँका अनुसार विशेषगरी विदुर नगरपालिका–८ र ९ का बाढी प्रभावित परिवारलाई लक्षित गरी राहत सामग्री वितरण गरिएको हो ।
बाढीबाट घर तथा सम्पत्ति गुमाएका परिवारलाई तत्कालीन राहतसँगै सुरक्षित र व्यवस्थित पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट निरन्तर सहयोग आवश्यक रहेको देखिन्छ ।

प्रतिकृया दिनुहोस्