चितवन। अरुणोदय माध्यमिक विद्यालय पूर्व विद्यार्थी एसोसिएसनको साधारण सभा तथा पुनर्मिलन कार्यक्रम आइतबार गीतानगरमा सम्पन्न भएको छ।
२०२५ देखि २०८२ एसएलसी ब्याचसम्मका पूर्व विद्यार्थीलाई एकै थलोमा ल्याउने उद्देश्यले आयोजित कार्यक्रममा पूर्व विद्यार्थी, पूर्व तथा वर्तमान शिक्षक, जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न क्षेत्रमा आबद्ध व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले विद्यालयलाई समयानुकूल विकास गर्न पूर्व विद्यार्थीहरूको सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभयो। उहाँले सबै पूर्व विद्यार्थी एकजुट भएर विद्यालयलाई अगाडि बढाउन, विशेषगरी प्राविधिक रूपमा सशक्त बनाउन पहल गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। विद्यालयको भौतिक पूर्वाधार, बौद्धिक क्षमता र आधुनिक प्रविधिको विकासमा पूर्व विद्यार्थीहरूले महत्वपूर्ण योगदान दिन सक्ने भन्दै त्यसतर्फ योजनाबद्ध रूपमा अघि बढ्न आग्रह गर्नुभयो।
एसोसिएसनका अध्यक्ष डा. सूर्यप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै शिक्षा, पूर्वाधार विकास तथा आगामी पुस्ताको हितमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा दिवंगत पूर्व विद्यार्थी तथा शिक्षकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण गरिएको थियो। त्यसपछि स्वागत मन्तव्य, एसोसिएसनको प्रगति प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन तथा सहभागी पूर्व विद्यार्थीहरूको परिचय र अनुभव आदानप्रदान गरिएको थियो। कार्यक्रममा गीत, गजल, कविता नृत्य लगायत सांस्कृतिक प्रस्तुति, शुभकामना मन्तव्य तथा सम्मान कार्यक्रमसमेत आयोजना गरिएको थियो।
एसोसिएसनले हाल करिव डेढ सय भन्दा बढी आजीवन सदस्य आबद्ध भइसकेको जानकारी दिँदै आगामी दिनमा पूर्व विद्यार्थीहरूको डिजिटल डाटाबेस निर्माण, वेबसाइट तथा सामाजिक सञ्जालमार्फत संस्थागत गतिविधि विस्तार गर्ने, साथै विद्यालयको शैक्षिक, भौतिक र प्राविधिक विकासमा सहयोग पुर्याउने योजना अघि बढाइने जनाएको छ।
कार्यक्रममा सहभागी पूर्व विद्यार्थीहरूले तीन पुस्ताका पूर्व विद्यार्थीलाई एउटै मञ्चमा जोड्ने अवसर प्रदान गरेकोमा एसोसिएसनप्रति खुसी व्यक्त गरेका थिए। उनीहरूले विद्यालयसँग जोडिएका पुराना सम्झना साटासाट गर्दै आफ्ना अनुभव सुनाउनुका साथै आगामी दिनमा विद्यालयको शैक्षिक, भौतिक तथा प्राविधिक विकासमा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस्