गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा बजारमा मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूलो अण्डाको समर्थन मूल्य प्रतिक्रेट ५१५ रुपैयाँ र मध्यम अण्डाको ४८५ रुपैयाँ कायम गरेको छ ।
उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ तोकिएको सङ्घका सचिव मदन पोखरेलले जानकारी दिए ।यसअघि ठूलो अण्डा ४८५ रुपैयाँ र मध्यम अण्डा ४३५ रुपैयाँ कायम गरिएको उनले बताए ।
सङ्घका अनुसार गर्मीका कारण उत्पादन घट्नु, कुखुरामा रोग फैलिनु र किसान कुखुरापालन व्यवसायबाट पलायन हुनु मूल्यवृद्धिको मुख्य कारण हो । दुई दिने बिदाका कारण पर्यटक बढ्दा अण्डाको खपतसमेत बढेको अध्यक्ष विनोद पोखरेलले बताए ।
अध्यक्ष पोखरेलका अनुसार अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा भए पनि किसानले अझै उचित मूल्य पाउन सकेका छैनन् । विभिन्न कृषि फार्मले निर्धारण गरेको मूल्यलाई समायोजन गरेर सङ्घले नयाँ समर्थन मूल्य जारी गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्