चितवन । माध्यमिक शिक्षा परीक्षा ९एसईई० भोलि चैत १९ गतेदेखि देशभर एकैसाथ सुरु हुँदैछ। यस वर्ष चितवन जिल्लाबाट १२ हजार ४५२ जना परीक्षार्थीहरू सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई चितवनले जनाएको छ। बिहान ८ बजेदेखि सुरु हुने यो परीक्षा आगामी चैत २९ गते सम्पन्न हुनेछ।
चितवनमा सहभागी हुने कुल परीक्षार्थीमध्ये १० हजार ५६९ जना नियमित तर्फका हुन् भने १ हजार ८८३ जना ग्रेड वृद्धिका विद्यार्थी रहेका छन्। जिल्लाका कुल २४४ विद्यालयका विद्यार्थीहरूका लागि ४२ वटा परीक्षा केन्द्र तोकिएको छ, जसमा ३४ सामुदायिक र ८ संस्थागत विद्यालयलाई केन्द्र बनाइएको छ। शिक्षा इकाईका सूचना अधिकारी रमेश अधिकारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष चितवनमा परीक्षार्थीको सङ्ख्या ७ जनाले घटेको छ। परीक्षालाई शान्त र मर्यादित वातावरणमा सम्पन्न गर्नका लागि सम्पूर्ण प्रशासनिक तयारी पूरा भइसकेको अधिकारीले जानकारी दिए।
राष्ट्रिय स्तरमा हेर्दा यस वर्ष देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले एसईई दिँदैछन्। जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ परीक्षार्थी रहेका छन्। यस वर्ष छात्रको तुलनामा छात्राको सङ्ख्या बढी देखिएको छ, जहाँ २ लाख ५७ हजार ६१३ छात्रा र २ लाख ५४ हजार ८०१ छात्र सहभागी हुँदैछन्। साथै, जापानमा रहेको एक परीक्षा केन्द्रबाट समेत २३ जना विद्यार्थीले परीक्षा दिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
परीक्षा तालिका अनुसार पहिलो दिन चैत १९ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ। त्यसैगरी २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि र २४ गते सामाजिक अध्ययनको परीक्षा सञ्चालन हुनेछ। २५ गते ऐच्छिक प्रथम र २६ गते ऐच्छिक द्वितीय खण्डका विषयहरूको परीक्षा हुनेछ भने २७ गतेदेखि २९ गतेसम्म प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन गरेर यस वर्षको एसईई समापन गरिनेछ।

प्रतिकृया दिनुहोस्