चितवन – “महिला उद्यमशिलता विकासमार्फत महिला सशक्तिकरण” भन्ने मूल नाराका साथ चितवन उद्योग वाणिज्य संघले भदौ १९ गतेदेखि ‘चितवन महिला उद्यमी मेला–२०८२’ आयोजना गरेको छ । मेला भदौ २३ गतेसम्म संचालन हुनेछ ।
संघले मंगलबार नारायणगढमा पत्रकार सम्मेलन गरी मेलाको जानकारी गराएको हो । तेस्रो संस्करणको रुपमा सुरु हुन लागेको मेला संघको प्रदर्शनी केन्द्रमा आयोजना हुने जानकारी पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । मेलामा चितवन, मकवानपुर, नवलपुर, तनहुँ, पोखरा लगायत वाग्मती प्रदेशका महिला उद्यमीहरुको सहभागिता रहने उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समितिका संयोजक अस्मिता तिमल्सेना रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार मेलामा करीब ३० वटा स्टल रहनेछन्, जसमा घरेलु तथा लघु उद्योग, हस्तकला, कृषि सम्बन्धी उत्पादनहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछ। एकल महिला, दुर्गम क्षेत्रका महिला उद्यमी र स्टार्टअपलाई निःशुल्क स्टल उपलब्ध गराइने प्रबन्ध गरिएको समेत संयोजक रिजालले जानकारी दिनुभयो । मेलामा करिब १५ हजार दर्शकले अवलोकन गर्ने तथा ३० लाख रुपैयाँ भन्दा धेरैको कारोवार हुने अनुमान गरिएको छ ।
मेलाले महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सेवाको प्रचार–प्रसार गर्ने, महिलालाई उद्यमशिलतामा उन्मुख गराउँदै स्वरोजगार र रोजगारी सिर्जना गर्ने, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने र नयाँ व्यवसायिक सम्पर्क तथा साझेदारीको अवसर प्रदान गर्ने लक्ष्य राखिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले बताउनु भयो । मेलाको क्रममा महिला उद्यमी बीच अनुभव आदान–प्रदान हुने, उद्यमशिलता सम्बन्धी गोष्ठी र राष्ट्रिय योग्यता प्रणालीसँगको सहकार्यमा बिषयगत छलफल कार्यक्रम समेत आयोजना गर्ने तयारी गरिएको छ ।
कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय चितवन, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् हेटौँडा, भरतपुर महानगरपालिका लगायतका संस्थाहरु प्रवर्द्धक रहेका छन् । चितवन उद्योग वाणिज्य संघले चितवन महोत्सव, कृषि मेला, सूचना प्रविधि मेला जस्ता विभिन्न प्रदर्शनी तथा महोत्सव आयोजना गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्