चितवन, १२ कार्तिक ।
स्याहार सुसारको क्षेत्र अर्थात केयरको कामका लागि कति नेपाली महिला विदेशमा छन् भने एकीन तथ्यांक भेटिदैन । ३ देखि ४ लाख सम्म नेपाली महिलाहरुले विदेशमा अनौपचारिक सेवा क्षेत्रमा काम गरेको भनिएपनि एकीन तथ्यांक भने सरकारी र गैरसरकारी संघ संस्थाहरुसँग भेटिदैन ।
देश भित्र भने अनौपचारिक क्षेत्रका करिव ९० प्रतिशत महिलाहरु स्याहार सुसारको काममा रहेका अनुमान गरिन्छ । आन्तरीक कामदारको समेत तथ्यांक एकिन नभएको अवस्थामा ९ लाख महिलाहरु घरेलु कामदारका रुपमा कार्यरत रहेको घरेलु कामदार समाजको अनुमान छ ।
बिशेष गरि बाल स्याहार, बृद्ध स्याहार, स्वास्थ्य सेवा र घरेलु कामलाई केयर इकोनोमीको रुपमा परिभाषित गरिएको छ । बैदेशिक रोजगार बिभागको तथ्यांक अनुसार आर्थिक बर्ष २०६५÷६६ देखि २०७५÷७६ को अवधिमा नेपालबाट ३८ लाख ९८ हजार ४ सय ७९ जना बैदेशिक रोजगारमा गएका छन् । जसमध्ये १ लाख ९७ हजार ८ सय सात महिला रहेको बिभागको तथ्यांकमा उल्लेख छ ।
घरेलु तथा हेरचाह गर्ने महिला प्रवासी मजदुरका विभिन्न समस्या र सरोकारका बिषयमा छलफल गर्न पौरखी नेपालले आज भरतपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा श्रम आप्रवासन बिज्ञ निलाम्वर बडालले स्याहार सुसारको कामका लागि बैदेशिक रोजगारीमा जाने महिलाहरुको बैदेशिक रोजगार पुर्व सुचनाको अभावका कारण महिलाहरु बिभिन्न किसीमका समस्यामा पर्ने गरेको बताउनु भयो ।
रोजगारमा जानुपुर्व ७ वटा व्यवस्था राज्यले नै गर्नुपर्ने वडालले बताए । जहाँ पठाउने हो त्यस देशको श्रम कानुन दरिलो हुनुपर्ने, दुई राष्ट्रबिच श्रम सम्झौता भएको हुनुपर्ने, श्रमीकको संरक्षण सम्बन्धि व्यवस्था प्रष्ट हुनुपर्ने, २४ घण्टे बिमाको व्यवस्था हुनुपर्ने, सेवा सुबिधा सहितको सम्झौता हुनुपर्ने, व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको व्यवस्था हुनुपर्ने लगायतका व्यवस्था प्रति राज्य जिम्मेवार हुनुपर्ने बडालको भनाई छ ।
पौरखी नेपालले जोखिमपुर्ण रुपमा बैदेशिक रोजगारमा जान लागेका महिलाहरुलाई सचेतना कार्यक्रम संचालन तथा बैदेशिक रोजगारबाट फर्किएकाहरुको लागि सुरक्षित आकस्मिक सेवा गृह संचालन गरिरहेको परियोजना संयोजक मञ्जु गुरुगंले जानकारी दिनुभयो । नेपालमा घरेलु कामदारको संरक्षण गर्न श्रम ऐन, २०१७ ले काम गर्ने घण्टा, ज्याला र कार्यस्थल सुरक्षासँग सम्बन्धित आधारभूत सुरक्षाहरू समेटेको छ ।
घरेलु कामदार नियमन, २०१३ ले घरेलु कामदारहरूको संरक्षण गर्ने उद्देश्यले काम गर्ने घण्टा, आराम र ज्यालामा विशेष दिशानिर्देशहरू प्रदान गरेको छ । वैदेशिक रोजगार ऐन, २००७ ले वैदेशिक रोजगारीमा रहेका नेपाली घरेलु कामदारको अधिकारमा दिशानिर्देशहरू प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस्