भरतपुर, २६ असार
सिर्जनशील समाज नेपालको आयोजनामा मंगलबार भरतपुरमा ‘संस्कार र सफलता जीवनको आधार’ विषयक परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सरस्वती रिजाल, गायत्री श्रेष्ठ, ममता शर्मा न्यौपाने र ब्रह्मकुमारी गंगाले संस्कार र सफलताबारे आफ्ना विचार र अनुभव राखेका थिए । उनीहरु चारै जनाले आ–आफ्नो बाल्यकाल र शिक्षाबारे पनि बोलेका थिए ।
‘बुबालाई पढाईप्रति खासै चासो थिएन । आमाले ‘पढ्न जा’ भनीभनी पढाउनु भयो’ बाल्यकाल स्मरण गर्दै बालकुमारी माध्यमिक विद्यालयकी पूर्वप्रधानाध्यापक सरस्वती रिजालले भनिन्, ‘बाल्यकाल रमाइलोमा बित्यो । नारायणीमा पौडी खेलिन्थ्यो । साथीहरु जम्मा भएर पुतली बनाउँथ्यौं, गट्टा खेल्थ्यौं ।’
‘लीलाबाजे २०१३ सालमा काठमाडौँबाट चितवन झर्नु भएको हो । गुजारा चलाउन नारायणगढमा होटल गर्नुभयो । १६ सालमा आगो लाग्यो, सबै खतम भयो’ विगत सुनाउँदै रिजालले भनिन्, ‘मेरी आमा नर्मदाले पढ्नुभएको थिएन, तर हामीलाई पढ्नुपर्छ भनेर पढाउनु भयो । छोराछोरीलाई पढाउनु पर्छ भन्ने उहाँको मान्यता थियो । मलाई ३ पुगेर ४ वर्षको लाग्दा स्कुलमा भर्ना गरिदिनु भएको हो ।’
२०१२ साल माघमा काठमाडौँमा जन्मिएकी रिजालले बिएड, एमएसम्मको अध्ययन पूरा गरिन् । लामो समय शिक्षण पेशामा रहेर अवकाश लिएकी उनले बालकुमारी माध्यमिक विद्यालयमा शिक्षकदेखि प्रधानाध्यापकसम्मको भूमिका सकुशल निर्वाह गरिन् । उनका केही साहित्यिक कृति प्रकाशित छन् । उनी चितवन साहित्य परिषद्को पूर्वसल्लाहकार समेत हुन् ।
परिषद्कै पूर्वअध्यक्ष गायत्री श्रेष्ठले बाल्यकाल र शिक्षाबारे फरक अनुभव सुनाइन् । ‘मेरो घरमा भने आमाले ‘पढ्नु पर्दैन, भान्साको काम गर’ भन्नुहुन्थ्यो । घरको काम भनेपछि एलर्जी नै हुन्थ्यो मलाई । केटा साथीहरुसँग डण्डीबियो, घ्वाइँ, फित्कौली (गुलेली) खेल्दै हिँड्थेँ । २०३० सालमा एमए सकेँ ।’
२००७ साल भदौमा इलाममा जन्मिएकी श्रेष्ठले बिएड पनि पूरा गरिन् । बिएदेखि काठमाडौँमा दाजुसँगै पढ्ने अवसर पाएको उनले सुनाइन् । राम्रो व्यवहार नै संस्कार भएको उनले प्रष्ट्याइन् । कुनै समय राम्रो उद्घोषकको छवि बनाएकी श्रेष्ठका केही साहित्यिक कृति प्रकाशित छन् ।
२०३१ साल माघमा भैरहवामा जन्मिएकी ममता शर्मा न्यौपानेले आफू सानै हुँदा घरमा आध्यात्मिक वातावरण रहेकोले आफू संस्कारयुक्त परिवेशमा हुर्किएको बताइन् । ‘म निडर थिएँ, स्कुलमा स्काउटको र रेडक्रसको लिडर थिएँ’ उनले अगाडि थपिन्, ‘दुःख र अभावको महसुस भएन । अनुशासनसहितको स्वतन्त्रता उपभोग गरेँ ।’
२०३२ साल कात्तिकमा तनहुँमा जन्मिएकी ब्रह्मकुमारी गंगाले बाल्यकालमा पढ्नको लागि निकै कष्ट उठाएको स्मरण गरिन् । ‘पढाइभन्दा ज्यादा हिँडाइ हुन्थ्यो’ उनले भनिन्, ‘बेँशीमा स्कुल थियो । जान दुई घण्टा ओरालो हिँड्नुपर्थ्यो, आउँदा चार घण्टा उकालो । पढ्नुपर्छ भनेर बुबा र आमा दुवैको साथ र सहयोग थियो । बुबा पढालिखा नै हुनुहुन्थ्यो, आमाले भने पढ्नु भएको थिएन ।’
गाउँबाट एसएलसी दिएपछि आइकम सप्तगण्डकीमा र बिकम बालकुमारी कलेजमा पढेको उनले सुनाइन् । ‘बिकम पढ्दापढ्दै ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयमा पुगेँ’ उनले भनिन् ।
आयोजक संस्थाका अध्यक्ष विनोद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आचार्य लक्ष्मण भण्डारीले टिप्पणी गरेका थिए । कार्यक्रमको सहजीकरण संस्थाकी सचिव निर्मला पण्डितले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्