असार ९, चितवन । सिन्धु ढकाल , बैदेशिक रोजगारमा जाने तयारीमा रहेका चितवनका २९ जना महिलाहरुलाई सीपमुलक तालिम दिईएको छ । चितवनका २९ जना महिलाहरुलाई सुरक्षीत आप्रवासन (सामी) संस्थाले सीपमुलक तालिमका लागी सहजीकरण गरेको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा रहेको सामीको सुरक्षित बैदेशिक रोजागारीका लागी आप्रवासी श्रोत केन्द्रमा परामर्श गरिएका ५ हजार ९ सय २ महिला मध्ये जम्मा २९ जनाले सीपमुलक तालिम लिएका छन् ।
परामर्श लिएका ६ हजार ६ सय २४ जना पुरुषहरु मध्ये ९३ जनाले सीपमुलक तालिम लिएका छन् । चालु आर्थिक बर्षमा सामीले जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी लिने १२ हजार ८ सय ४३ जनालाई बैदेशिक रोजगारी सम्वन्धि परामर्श गरेको छ ।
सामीले महिलाहरुका लागी हाउस किपीगं क्लीनर र गार्मेन्ट मेशिन अपरेटरको तालिमका लागी समन्वय गर्दै आएको छ । दक्षता बिना बैदेशिक रोजगारमा जादाँ अधिकाशं कामदारहरु जोखिमयुक्त काम गर्न वाध्य हुने, दक्षताको कमीका कारण न्युन पारिश्रमिक पाउने तथा कार्यस्थलमा बिभिन्न दुर्घटना परि अंगभंग हुने र मृत्यु समेत हुने गरेको पाईएकोले परियोजना अन्तर्गत सीपमुलक तालिम कार्यक्रमलाई प्राथमिकतामा राखेको सामी चितवनका कार्यक्रम संयोजक सुर्य प्रसाद पौडेलले जानकारी दिनुभयो ।
सामान्य आधारभुत शिक्षा लिएका १९ देखि ३८ बर्ष उमेरका महिलाहरुलाई तालिमका लागी अवसर प्राप्त गर्दछन् । जिल्ला प्रशासन कार्यालयमा पासपोर्ट बनाईसकेका वा पासपोर्टका लागी आवेदन दिएका महिला र २ बर्ष भन्दा मुनिका बालबालिका नभएका महिलाहरुले तालिममा सहभागी हुने अवसर प्राप्त गर्दछन् । तालिमको निशुल्क व्यवस्था गरिएको र खान र बस्नका लागी समेत निशुल्क व्यवस्था गरिएको छ । तालिम १ महिनासम्मका लागी संचालन गरिएको छ ।
परामर्शका क्रममा तालिमको अवसरका बिषयमा जानकारी दिएको भएपनि धेरै महिलाहरु तालिमका लागी तयार नहुने गरेको सुरक्षित बैदेशिक रोजगारीका लागी आप्रवासी श्रोत केन्द्रका सुचना तथा परामर्शदाता सरस्वती पौडेलले बताउनु भयो । तालिमका लागी नाम सिफारिस गरेर समेत अन्तिम अवस्थामा तालिममा सहभागी नहुने गरेको समेत उहाँले बताउनु भयो ।
सामी कार्यक्रमले सुचनामा पहँुच, सीप मुलक तालिमका लागी सहजिकरण, न्यायमा सहजिकरण, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता सम्बन्धी जानकारी मुलक कार्यक्रम संचालन गर्दै आएको छ ।
कानुनी सहायताका लागी ७७ जनाको उजुरी
बिभिन्न श्रमका लागी बैदेशिक रोजगारिमा गएका चितवनका ७७ जनाले कानुनी सहायताका लागी उजुरी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनमा सम्पर्क कार्यालय राखि सुरक्षीत आप्रवासन सामी कार्यक्रममा आर्थिक बर्ष २०७९÷८० मा ७७ जनाले निशुल्क कानुनी सहायतका लागी आवेदन दिएका हुन् ।
जसमध्ये भरतपुर महानगरपालिकाका सबैभन्दा धेरै ४० जनाको आवेदन परेको छ भने रत्ननगरको १०, इच्छाकामना गाँउपालिकाको ४, माडी नगरपालिकाको ३ र अन्य पालिकाको २० बटा निवेदन परेको छ ।
निवेदन मध्ये ७ बटा बैदेशिक रोजगारीकोक्रममा मृत्यु भएको छ , २६ बटा ठगीका मुद्धा छन् भने ४४ वटा अन्य मुद्धा छन् । निवेदन परेको मध्ये २६ वटा मुद्धाको समाधान गरिएको छ भने अन्य मुद्धा प्रक्रियामा छन् । प्रभावितहरुलाई १ करोड ८४ लाख ८५ हजार ९८ रुपैया क्षर्तिपुर्ति र सहायत रकम उपलब्ध गराएको सामी चितवन जिल्ला संयोजक सुर्य प्रसाद पौडेलले जानकारी दिनुभयो ।
चितवनबाट सबैभन्दा धेरै बैदेशिक रोजगारिमा
आर्थिक बर्ष ०७८÷०७९ मा चितवनबाट मात्र १३ हजार ९ सय २७ जना बैदेशिक रोजगारिमा गएका छन् । यो संख्या वागमति प्रदेशका १३ जिल्लाहरुमा सबैभन्दा धेरै हो । वागमति प्रदेशकै रसुवा जिल्लाबाट भने आर्थिक बर्ष ०७८÷०७९ मा सबैभन्दा थोरै ११ सय ११ जना बैदेशिक रोजगारिमा गएका छन् ।
मकवानपुरवाट १० हजार २ सय ४५ जना, काभ्रेवाट ९ हजार ३ सय ६७ जना, सिन्धुपाल्चोकबाट ९ हजार ३ सय २७ जना, धादिङ्गबाट ८ हजार ५ सय ६०, नुवाकोटवाट ८ हजार ४ सय २०, सिन्धुलीवाट ७ हजार ५ सय १७ , काठमाण्डौबाट ६ हजार ९ सय ६८ जना आर्थिक बर्ष ०७८÷७९ मा बैदेशिक रोजगारमा गएका छन् । त्यस्तै रामेछापबाट ५ हजार ५ सय ४१, दोलखाबाट ५ हजार २ सय ३४, भक्तपुरबाट २ हजार ५ सय ७३ जना बैदेशिक रोजगारमा गएका छन् भने ललितपुरवाट ३ हजार १ सय ५८ जना बैदेशिक रोजगारिमा गएका छन् ।

प्रतिकृया दिनुहोस्