चितवन, १० असार। सिन्धु ढकाल
भरतपुर महानगरपालिकाले अति विपन्न परिवारका ६ सय ५० जना छात्राहरुलाई निः शुल्क साईकल वितरण गरेको छ । पछिल्लो ३ बर्षमा महानगरपालिकाले छात्रासँग मेयर कार्यक्रम अन्तर्गत महानगरपालिकाले सामुदायीक बिद्यालयमा अध्ययनरत विपन्न परिवारका छात्राहरुलाई साईकल बितरण गरेको हो ।
महानगरपालिकाको सामाजिक विकास महाशाखाका अनुसार महानगरपालिकाले २८ बटा वडाका बिभिन्न सामुदायीक बिद्यालयमा अध्ययनरत छात्राहरुलाई बिद्यालय आवातजावतमा सहजता होस् भन्ने उदेश्यले साईकल वितरण गरिएको हो ।
महानगरपालिकाले अति विपन्न परिवारका छात्रालाई विद्यालय शिक्षामा पहुँच पुर्याउनका लागी र किशोरीहरुको गतिशिलता बृद्धि गर्ने उद्देश्यले कक्षा ६ देखि १२ कक्षाका किशोरीलाई साइकल वितरण गर्दै आएको हो ।
भरतपुर २९ मा भने भौगोलिक हिसाबले साईकल चलाउन प्रभावकारी नहुने भएकाले महानगरपालिकाले स्कुल बस सहयोग गरेको छ ।
यस बर्ष भरतपुर १, २ , ३, ४, १० र १२ का १ सय २६ जनालाई साईकल वितरण गरिएको छ । प्रत्येक वडाका २१ जनालाई निः शुल्क साईकल वितरण गरिएको भरतपुर महानगरपालिकाले जनाएको छ ।
छात्रासँग मेयर कार्यक्रम अन्तर्गत ६ वडाका १३ विद्यालयमा अध्ययनरत छात्रालाई प्रोत्साहन स्वरुप महानगर प्रमुख रेनु दाहालले एक औपचारिक कार्यक्रममा साइकल वितरण गर्नुभएको हो ।

सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगर प्रमुख महिला भएका बेला महिलामैत्री महानगर निर्माणको पहल स्वरुप महिला केन्द्रित बिभिन्न कार्यक्रमहरु महानगरले संचालन गरिरहेको बताउनु भयो । महानगरले भरतपुर अस्पतालमा महिलालाई निःशुल्क ओपिडी टिकट, छोरी जीवन बीमा, छात्रासँग मेयरजस्ता प्रभावकारी कार्यक्रमहरु संचालन गरिरहेको उहाँले वताउनु भयो ।
महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिकाले भौतिक बिकास सँगसँगै शैक्षिक क्षेत्रको विकासमा समेत उपलब्धि हासील गरेको वताउनु भयो । शिक्षा क्षेत्रमा आकर्षण बनाउन र सामुदायीक बिद्यालयहरुलाई प्रभावकारी वनाउका लागी महानगरले विभिन्न छात्रावृत्ति वितरण, दिवा खाजा सेवा, बिद्यालय बस वितरण साथै न्यानो कपडा वितरण गरेको उहाँले बताउनु भयो ।
कार्यक्रममा सहभागी छात्राहरुले साईकलका कारण आफुहरुलाई समय व्यवस्थापनमा सहज भएको भन्दै साईकल वितरण कार्यक्रमलाई निरन्तरता दिन महानगरलाई अनुरोध गरेका थिए ।
बिद्यालय क्षेत्रमा छात्राहरुको निरन्तरताका लागी केहि बिद्यालय र बिद्यार्थीहरुलाई मात्र सहभागी गराउनु भन्दा पनि सामुदायीक बिद्यालयमा अध्ययन सबै बिद्यार्थीहरुका लागी यस किसिमको कार्यक्रम संचालन गर्नु आवश्यक भएको कार्यक्रममा सहभागी अभिभावकहरुले वताएका छन् ।
यस अघि आर्थिक बर्ष ०७८/७९ मा २ सय वटा साईकल वितरण गरिएको थियो । भरतपुर बडा नं ५, ७,८,१५,१६,१८,१९,२०,२१ र ११ मा प्रत्येक वडामा १० वटाका दरले साईकल वितरण गरिएको थियो ।
आर्थिक बर्ष ०७७/
७८ मा वडा नं ६, ९, १३, १४, १७, २२, २३, २४, २५, २६, २७ र २८ गरि १२ बटा वडालाई प्रति वडा २७ वटाका दरले साईकल वितरण गरिएको थियो ।
महानगरपालिकाले सामुदायीक विद्यायलमा अध्ययनरत किशोरीहरुलाई बिभिन्न मापदण्ड निर्धारण गरि छनोट गरेको थियो । विपन्न परिवारका किशोरिहरुका लागी निर्धारण गरिएको कार्यक्रममा आफ्नै आम्दानीले ६ महिना भन्दा कम खान पुग्ने परिवारलाई विपन्न परिवारका रुपमा व्याख्या गरिएको छ । त्यस्तै परिवारमा एक जना पनि पनि नियमित आम्दानीको श्रोत, जागीर अथवा पेन्सन नभएको परिवार, हालसम्म कच्ची घर, टिन वा खवरको छाना भएको परिवार, बिशेष गरि दैनिक ज्याला मजदुरी गरि खाने परिवारलाई बिपन्न परिवारको रुपमा मुल्यांकन गरि सेवाग्राही छनौट गरिएको महानगरपालिकाको सामाजिक शाखाले जनाएको छ ।
त्यस्तै किशोरीको घरबाट बिद्यालयको दुरी कम्तीमा १.५ किलो मिटर हुनुपर्ने,साईकल प्राप्त गर्ने छात्रा नियमित रुपमा बिद्यालय आउने जाने गरेको भन्ने बिषयलाई आधारमानि छात्राको छनौट गरिएको थियो ।

प्रतिकृया दिनुहोस्